समाचार

कार्की आयोगले डामेका ओलीसहित यी अधिकारीमाथि अब अघि बढ्नेछ कारबाही

नवलपुर टुडे
२०८२ चैत्र १३ | मध्यान्ह ०६:१२ बजे

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने भएसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायत कारबाहीको दायरमा आउने भएका छन् । 

बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को शुक्रबार बसेको पहिलो बैठकले नै कार्की आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने गरेको हो । 

यो निर्णयसँगै जेनजी आन्दोलनमा दोषी देखिएकामध्येका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री  रमेश लेखक र आईजीपी चन्द्र कुवेर खापुङ कारबाहीको दायरमा आउने भएका हुन् । उनीहरूमाथि आयोगले १० वर्षसम्म जेलसजायको सिफारिस गरेको छ । 

मन्त्रिपरिषद्को बैठकले आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा भने अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिस बमोजिम गर्ने निर्णय गरेको सरकारका नवनियुक्त प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

ओलीलगायतको हकमा भने सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकाय (गृह मन्त्रालय लगायत) लाई निर्देशन दिने निर्णय भएको उनको भनाइ छ । 

प्रक्रिया के हुन्छ ?

मन्त्रिपरिषद्ले निर्णय गरेर गृहले निर्देशन दिएपछि ओलीलगायतको हकमा प्रहरीले प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाउँछ । अनुसन्धानका क्रममा प्रमाण सङ्कलन गरेर अभियोजनका लागि प्रहरीले सरकारी वकिलकहाँ पठाउँछ । सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दायर गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय गर्छ । यस्तो अवस्थामा सरकारी वकिलको कार्यालयलाई निर्देशन दिने या नदिने भन्ने अधिकार महान्यायाधिवक्ताको कार्यालयलाई हुन्छ ।

यी हुन् आयोगले डामेकाहरू 

तत्कालीन प्रधानमन्त्री– केपी शर्मा ओली

तत्कालीन  गृहमन्त्री– रमेश लेखक 

तत्कालीन आईजीपी–चन्द्रकुवेर खापुङ

(उनीहरुले ‘फौजदारी लापरबाही’ र जिम्मेवारीबाट पन्छिएको कसूर गरेको आयोगको ठहर छ ।)

कारबाही सिफारिस प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरू

गोकर्णमणि दुवाडी : तत्कालीन गृह सचिव।

राजु अर्याल : तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक ।

हुतराज थापा : तत्कालीन प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग।

छविराज रिजाल : तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ), काठमाडौँ।

कारबाही सिफारिस नेपाल प्रहरीका अधिकारीहरू 

सिद्धिबिक्रम शाह : प्रहरी अतिरिक्त महानिरीक्षक, कार्य विभाग प्रमुख।

ओमबहादुर राना : प्रहरी नायव महानिरीक्षक, तत्कालीन कार्यवाहक प्रमुख, रानीपोखरी।

विश्व अधिकारी : प्रहरी वरिष्ठ उपरीक्षक, तत्कालीन प्रमुख, काठमाडौँ प्रहरी परिसर।

दीप शम्शेर जबराः प्रहरी वरिष्ठ उपरीक्षक, रानीपोखरी।

ऋषिराम कँडेल :प्रहरी उपरीक्षक, विशेष कार्यदल।

दानबहादुर कार्की : प्रहरी अतिरिक्त महानिरीक्षक, हतियार सुरक्षामा ध्यान नपुर्‍याएको र सरुवाको विषयमा।

कारबाही सिफारिस सशस्त्र प्रहरी बलका अधिकारीहरू

नारायणदत्त पौडेल : सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, तत्कालीन अपरेशन कमाण्डर।

सुरेश कुमार श्रेष्ठ : सशस्त्र प्रहरी नायव महानिरीक्षक, वाहिनीपति।

जीवन केसी : सशस्त्र प्रहरी उपरीक्षक, विपद् उद्धार।

कारबाही सिफारिस राष्ट्रिय अनुसन्धान विभाग 

कृष्णप्रसाद खनाल : सह–निर्देशक, उपत्यका अभियान महाशाखा।

रिबेन कुमार गच्छदार : सह–अनुसन्धान निर्देशक, काठमाडौँ जिल्ला प्रमुख।

कारबाही सिफारिस नेपाली सेनाका अधिकारीहरू 

मनोज बैदवार : सहायक रथी, राष्ट्रपति भवन (शीतल निवास) सुरक्षा टोली प्रमुख।

दिवाकर खड्का : प्रमुख सेनानी, प्रधानमन्त्री निवास (बालुवाटार) सुरक्षा टोली प्रमुख।

गणेश खड्का : प्रमुख सेनानी, सिंहदरबार सचिवालय सुरक्षा टोली प्रमुख।

सन्तोष ढुङ्गेल : सेनानी, संसद् भवन र बानेश्वर क्षेत्र सुरक्षा टोली प्रमुख।

अन्य समूह कारबाही सिफारिस

टीओबी ग्रुप : भीडलाई उक्साउने र शान्ति भङ्ग गर्ने कार्यमा संलग्न भनिएका मोटरसाइकलमा आएका व्यक्तिहरू (फौजदारी संहिताको दफा ३५ अनुसार छानबिन गर्न सिफारिस)। रातोपाटीबाट

कमेन्टहरु