ऊर्जाबाट कोही पनि वञ्चित नहोस्ः ऊर्जामन्त्री श्रेष्ठ


काठमाडौँ, चैत १३। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि वञ्चित हुन नहुने बताउनुभएको छ ।नवनियुक्त ऊर्जामन्त्री श्रेष्ठले आज मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै ऊर्जा क्षेत्रबाट कोही पनि वञ्चित हुन नहुने बताउनुभएको हो । “२१औँ शताब्दीमा स्वच्छ ऊर्जाको माग झन् बढेर गएको छ, समयसापेक्ष रुपमा नीति बनाएर स्वच्छ ऊर्जाको विकासमा लागिनेछ,” उहाँले भन्नुभयो ।
मन्त्री श्रेष्ठले २१औँ शताब्दी भनेको अनुसन्धानको युग भएकाले ऊर्जा र सिँचाइ क्षेत्रमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सुशासन ऐनलाई टेकेर मन्त्रालयमा सुशासन समिति गठन गरिने बताउनुभयो । वित्तीय सुशासनलाई प्रभावकारी ढङ्गले अगाडि बढाइने उहाँको भनाइ थियो ।
मन्त्री श्रेष्ठले मन्त्रालयमा आएको उजुरी र यहाँ भएका चुनौतीलाई अध्ययन गरेर समाधानमा लाग्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयमा भएका कामका बारेमा प्रत्येक हप्ता सञ्चारमाध्यममार्फत आम जनतासम्म लैजान कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।
विवेकशील साझा पार्टीका तर्फबाट विसं २०७४ सालमा, समानुपातिकतर्फबाट बाग्मती प्रदेशको प्रदेशसभा सदस्य बन्नुभएको श्रेष्ठ विसं २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ बाट विजयी भई युवा तथा खेलकुदमन्त्री बन्नुभएको थियो ।
प्रदेशसभामा रहँदा नेपाल भाषा र तामाङ भाषालाई बाग्मती प्रदेशको सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन मन्त्री श्रेष्ठले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । ‘बिजनेस एड्मिनिस्ट्रेसन’ मा स्नातक गर्नुभएका श्रेष्ठले होटल–रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनामा जागिरेका रूपमा काम गर्नुभएको थियो ।
मन्त्री श्रेष्ठलाई मन्त्रालयमा ऊर्जा सचिव चिरञ्जीवी चटौत, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जल तथा ऊर्जा आयोगका सचिव दीनानाथ मिश्रले स्वागत गर्नुभएको थियो । तीनैजना सचिवले मन्त्री श्रेष्ठलाई आफ्नो नेतृत्वमा मन्त्रालयमा भएका कामका बारेमा जानकारी गराउनुभएको थियो ।






















