देश

वादी समुदायका पहिलो महिला मन्त्री सीता वादी

नवलपुर टुडे
२०८२ चैत्र १३ | मध्यान्ह ०३:१२ बजे

काठमाडौँ, चैत १३। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त हुनुभएको छ । वादी समुदायबाट मन्त्री बनेको उहाँ पहिलो हो ।

महिला सशक्तिकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आउनुभएकी नवनियुक्त वादीले हालै रासससँगको कुराकानीम उहाँले वादी समुदायका महिलाको स्थिति झनै नाजुक रहेको बताउनुभयो । संस्थामार्फत सिलाइकटाइ प्रशिक्षण दिएर महिलालाई आर्थिक स्वावलम्बी बनाउने काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ–८ मा बसोबास गर्दै आएकी वादीले राजनीतिक यात्रामा रास्वपाबाट सुरु गर्नुभएको हो । “महिलाहरुको स्थिति नाजुक छ, त्यसमा पनि दलित र वादी समुदायको त झनै पीडादायी छ,” उहाँले भन्नुभयो, “स्थिति सुधार गर्ने खालको परिणाममुखी काम गर्छु ।”

सीताका अनुसार राजनीतिको यात्रा सजिलो छैन । तर, यो अवसरलाई उहाँले भरपुर सकारात्मक कार्यमा लगानी गर्ने बताउनुभयो । समाजमा विद्यमान असमानता, विभेद र अपमानको जालो हटाएर समानतापूर्ण समाज निर्माण गर्नुपर्ने उहाँको धारणा छ । आधा आकाश ढाक्ने महिलाको परिस्थितिलाई अझै बलियो बनाउने र सीमान्तकृत समुदायका महिलाको विकासमा जोड दिने उहाँको योजना छ ।

वादी समुदाय, दलितभित्र पनि अत्यन्तै सीमान्तकृत, जहाँ गरिबी मात्रै होइन, नियति जस्तो बनाइयो, जहाँ अपमान सामान्य व्यवहारजस्तै स्वीकार गर्न बाध्य बनाइयो ।

यसअघि वादी समुदायबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उमादेवी वादी निर्वाचित हुनुभएको थियो । “वादी समुदायका खान र बस्नसमेत नपाएको अवस्था छ । वादी समुदायका छोरीहरुको अवस्था अन्धकारमय छ,” उहाँले भन्नुभयो । आफ्नो बाल्यकाल आर्थिक अभाव र सामाजिक अपहेलनाले भरिएको बताउँदै उहाँले पढ्नका लागि कलम–कापी नपाउँदाको पीडा सम्झनुभयो । उहाँले गरिबीकै कारण खान र बस्नसमेत चुनौती खेपेर बाल्यकाल हुर्किएको सुनाउनुभयो ।

यद्यपि वादीले जीवनमा भोगेका थुप्रै सङ्घर्षले आफ्नो जीवनलाई थप बलियो र परिपक्व बनाएको बताउनुभयो । अभावका बीच पनि पढ्ने रहर उहाँले कहिल्यै मार्नुभएन र एउटा संस्थाले उहाँलाई शिक्षामा सहयोग गर्यो । समाजसेवा ९बिएसडब्लु० अध्ययन पूरा गर्नुभएकी वादीले शिक्षा नै चेतनाको मुख्य आधार रहेको बताउनुभयो । पढ्न पाएपछि उहाँले जीवनलाई फरक ढङ्गले अगाडि बढाउन सक्ने हुनुभयो । “समाजमा आत्मसम्मानको लडाइँ निकै ठूलो हुँदोरहेछ,” उहाँले भन्नुभयो, “जुन अहिलेसम्म लडिरहेछु ।” 

कमेन्टहरु