देश

शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलतः हर्क साम्पाङ

नवलपुर टुडे
२०८२ चैत्र १३ | मध्यान्ह ०३:१२ बजे

काठमाडौं,चैत १३। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रम संस्कृति केवल शारीरिक श्रममा सीमित नभई सचेत, जिम्मेवार र सक्रिय नागरिकको अभ्यास भएको बताएका छन्।

शुक्रबार आयोजित सदस्यता वितरण कार्यक्रममा बोल्दै उनले श्रम संस्कृति पार्टी ढुङ्गा र माटो मात्र बोकिरहने नभई प्रतिपक्षको भूमिकामा रहि सक्रियरुपमा जिम्मेवार रहने बताएका छन् ।उनले भने, ‘श्रम संस्कृति भनेको ढुङ्गा र माटो मात्र बोकिरहने वा विरुवा मात्र रोपिरहने होइन । विकासका काममा एकोहोरो लागिरहने मात्र पनि होइन । हामी प्रतिपक्ष पनि हौं ।’

उनले आफू मात्र संसदमा पुगेर सबै कुरा हेर्ने अवस्था नरहेको उल्लेख गर्दै सबै नागरिकलाई सक्रिय हुन आह्वान गरे । ‘तपाईंहरू सबै जना हर्क साम्पाङ हो,’ भन्दै उनले पूर्वदेखि पश्चिमसम्म सञ्चालन भइरहेका योजनामा नागरिकले नम्र, भद्र र शिष्ट ढंगले प्रश्न उठाउनुपर्ने बताए ।

साम्पाङले देशमा विद्यमान विकृति र विसंगति हटाउन रचनात्मक तथा सिर्जनात्मक सहभागिता आवश्यक रहेको धारणा राखे ।
‘हामी त्यसरी लाग्यौं भने मात्र सरकार ठीक ठाउँमा आउँछ,’ उनले जोड दिदै भने।

साथै, उनले आफ्नो पार्टी सधैं पीडित र दुःखी नागरिकहरूको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे । न्युज बैंक

कमेन्टहरु