विश्व

स्ट्रेट अफ हर्मुजमा इरानको हात किन माथि छ ?

एजेन्सी
२०८२ चैत्र १३ | मध्यान्ह १२:१२ बजे

वासिङटन डीसी । अमेरिका र इजरायल मिलेर इरानमाथि आक्रमण गरेयता स्ट्रेट अफ हर्मुज करिब चार सातादेखि प्रभावकारी रूपमा अवरुद्ध जस्तै बनेको छ, जसले विश्वव्यापी तेल बजारमा ठुलो अस्थिरता ल्याएको छ । विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यसको अवरोधले ऊर्जा संकटलाई अझ गहिरो बनाएको छ ।

स्ट्रेट अफ हर्मुज खाडी क्षेत्रबाट विश्व बजारतर्फ जाने मुख्य मार्ग हो । यहाँबाट इन्धन र मल उत्पादनका लागि आवश्यक सामग्रीसमेत आपूर्ति हुने गरेको छ । यो बाटो ठप्प प्रायः हुनुले ऊर्जा मात्र होइन, खाद्य सुरक्षामा पनि प्रभाव पार्ने चिन्ता बढेको छ । यसबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकट समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताएका छन् । साथै अमेरिकाले मध्यपूर्वमा थप सैनिक तैनाथ गर्ने र तेल ट्यांकरहरूलाई नौसैनिक सुरक्षा दिने विकल्पबारे समेत विचार गरिरहेको छ ।

तर यस्ता प्रयासहरूका बाबजुद पनि इरान अझै बलियो अवस्थामा देखिन्छ । यसको मुख्य कारण इरानले अपनाएको असामान्य युद्ध रणनीति हो । अमेरिका इजरायलसँगको यस युद्धमा इरानले सस्तो ड्रोन, समुद्री बारुदलगायतका विधिहरू प्रयोग गरिरहेको छ । यस्ता प्रविधिले ठुला सैन्य शक्तिलाई पनि चुनौती दिन सक्ने क्षमता राख्छन् ।

अर्काेतर्फ, इरानको भौगोलिक अवस्थाले पनि उसलाई फाइदा पु‍र्याएको छ । स्ट्रेट नजिकै रहेको हुँदा उसले सहज रूपमा जहाजहरूको आवागमनमा प्रभाव पार्न सक्छ, जसले अन्य देशहरूलाई सैन्य रूपमा पूर्ण सुरक्षा सुनिश्चित गर्न कठिन बनाएको छ । यति मात्र होइन, यो अवस्था इरानका लागि आर्थिक रूपमा समेत लाभदायक देखिएको छ । केही रिपोर्टअनुसार इरानले स्ट्रेट पार गर्न चाहने केही ट्यांकरहरूसँग सुरक्षित मार्ग का नाममा शुल्क उठाइरहेको छ । मार्च २३ मा लोयडको लिष्ट इन्टेलिजेन्सले सार्वजनिक गरेको विवरणअनुसार कम्तीमा दुई जहाजले ठुलो रकम तिरेर मार्ग पार गरेका थिए । 

कमेन्टहरु