ऊर्जा केन्द्रमा आक्रमण रोक्न इरानले ७ दिन माग्यो, मैले दिए १० दिन दिए: ट्रम्प


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्न सात दिनको समय मागेको तर आफूले त्यसको बदलामा १० दिनको समय दिएको दाबी गरेका छन् । उनले आफ्नो यो कदमप्रति तेहरान ‘धेरै आभारी’ रहेको पनि बताएका छन् ।फक्स न्युजसँगको एक टेलिफोन अन्तर्वार्तामा ट्रम्पले इरानसँग अमेरिकाको कुराकानी ‘निकै राम्रो’ भइरहेको बताए। ‘उनीहरूले मेरा मान्छेहरूमार्फत एकदमै राम्रोसँग भने’ ‘के हामी थप समय पाउन सक्छौँ ? फक्सको कार्यक्रममा उनले भने ।
ट्रम्पले थपे, ‘उनीहरूले सात दिन मागेका थिए । र मैले भनेँ, ‘म तिमीहरूलाई १० दिन दिन्छु,’ किनभने उनीहरूले मलाई जहाजहरू दिए । तपाईँलाई थाहै छ, हामीले आठ जहाजहरूको बारेमा कुरा गरेका थियौँ । मैले केही दिनअघि भनेको ‘उपहार’।’
यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानी ऊर्जा केन्द्रहरूमा आक्रमण रोक्ने अवधिलाई पाँच दिनबाट बढाएर दुई हप्ता पुर्याउने घोषणा गरेका थिए । यो रोक भोलि समाप्त हुँदै थियो, तर अब अप्रिल ६ सम्म कायम रहनेछ ।
केही समयअघि ह्वाइट हाउसमा भएको क्याबिनेट बैठकमा ट्रम्पले इरानले वार्ताका क्रममा आफूलाई ‘उपहार’ स्वरूप होर्मुजको स्ट्रेटबाट तेल ट्याङ्करहरूलाई जान दिएको बताएका थिए ।यद्यपि, इरानले भने युद्ध अन्त्यका लागि अमेरिकासँग कुनै पनि वार्ता भइरहेको कुरालाई ठाडै अस्वीकार गरेको छ ।






















