बिश्व

निकोलस मादुरो फेरि अदालतमा

एजेन्सी
२०८२ चैत्र १२ | मध्यान्ह १२:१२ बजे

न्युयोर्क । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले पुनःअमेरिकी संघीय अदालतमा उपस्थित हुँदै आफ्नो मुद्दामा अमेरिकी सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छन् । यस्तो हस्तक्षेपका कारण आफ्नो कानुनी बचाउ कमजोर बनाइएको भन्दै उनले मुद्दा नै खारेज गर्न माग गरेका छन् ।

आफूविरुद्ध लागेका नार्को–आतंकवाद (नार्को–टेररिज्म) सम्बन्धी आरोपहरू सामना गर्न उचित अवसर नपाएको दाबी पनि मादुरोले गरेका छन् । उनका वकिलले अमेरिकी सरकारका प्रतिबन्ध नीतिका कारण कानुनी शुल्क तिर्न समस्या भएको बताएका छन् ।

यस मुद्दाको सुनुवाइ संघीय न्यायाधीश एल्भिन हेलरस्टाइन समक्ष भइरहेको छ । प्रारम्भमा न्यायाधीशले मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसका कानुनी टोलीलाई प्रमाण अध्ययन गर्न र आगामी कानुनी प्रक्रिया तय गर्न समय दिएका थिए । तर घटनाले नयाँ मोड लिँदै मादुरोका प्रमुख वकिल ब्यारी पोलकले अमेरिकी सरकारले भेनेजुएला सरकारलाई कानुनी शुल्क तिर्न नदिए आफूले मुद्दाबाट अलग हुनुपर्ने अवस्था आउने बताएका छन् ।

मादुरो दम्पतीलाई जनवरीको सुरुमा काराकासस्थित राष्ट्रपति निवासबाट अमेरिकी सैन्य तथा कानुन कार्यान्वयन टोलीले पक्राउ गरी न्युयोर्क ल्याइएको थियो, जहाँ उनीहरू विरुद्ध गम्भीर आपराधिक मुद्दा चलिरहेको छ । विवादको केन्द्र अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएएसी) को निर्णय बनेको छ ।

मादुरो पक्षका अनुसार उक्त निकायले सुरुमा भेनेजुएला सरकारलाई वकिलको शुल्क तिर्न अनुमति दिएको थियो, तर पछि त्यो अनुमति फिर्ता लियो । यसले मादुरोको उचित कानुनी बचाउ गर्ने संवैधानिक अधिकार उल्लङ्घन गरेको उनीहरूको तर्क छ ।

यता अभियोजन पक्षले भने उक्त अनुमति “प्रशासनिक त्रुटि” भएको दाबी गर्दै प्रतिबन्ध अन्तर्गत कुनै पनि प्रतिबन्धित सरकारी स्रोतबाट वकिलको शुल्क तिर्न नपाइने स्पष्ट पारेको छ । उनीहरूले मादुरोलाई आफ्नै व्यक्तिगत सम्पत्तिबाट खर्च गर्न भने अनुमति दिइएको बताएका छन् ।

अदालतले मुद्दा खारेज नगरे, मादुरो पक्षले सरकारको निर्णय प्रक्रियामाथि थप सुनुवाइ गरिनुपर्ने माग पनि राखेको छ । मादुरोविरुद्ध लागू गरिएको आरोपमा लागूऔषध तस्करी, नार्को–आतंकवाद र हतियारसम्बन्धी अपराधहरू समावेश छन्, जसका कारण उनी दोषी ठहर भए जीवनभरको जेल सजाय हुन सक्ने बताइएको छ । 

 

कमेन्टहरु