प्रबास

गुटेरेसले भने, ‘अब युद्ध रोक्ने बेला भयो’

एजेन्सी
२०८२ चैत्र १२ | बिहान ११:१२ बजे

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई अब युद्ध अन्त्य गर्ने समय आएको सन्देश दिएका छन्। उनले इरानलाई पनि आफ्ना छिमेकी देशहरूमाथि आक्रमण बन्द गर्न आग्रह गरेका हुन्। 

पत्रकारहरूसँग कुरा गर्दै गुटेरेसले हालै लेबनान भ्रमणका क्रममा त्यहाँका नागरिकहरूले भोगिरहेको चरम असुरक्षालाई नजिकबाट नियालेको र त्यो अवस्था अत्यन्तै डरलाग्दो रहेको बताए। महासचिव गुटेरेसले लेबनानमा भइरहेको युद्ध पनि तत्काल रोकिनुपर्नेमा जोड दिए। 

उनले सशस्त्र समूह हेजबुल्लाहलाई इजरायलमाथि आक्रमण नगर्न र इजरायललाई पनि लेबनानमा आफ्ना सैन्य कारबाही र हवाई हमलाहरू बन्द गर्न आह्वान गरे। उनले गाजामा देखिएको विनाशकारी मोडल लेबनानमा दोहोरिन नहुने भन्दै विश्व समुदायलाई सचेत गराए।

उनका अनुसार युद्धले केवल विनाश मात्र निम्त्याइरहेको छ र यसलाई रोक्न अब ढिला भइसकेको छ। लेबनान र इजरायलको सीमा क्षेत्रमा बढ्दै गएको सैन्य तनावले समग्र मध्यपूर्वको शान्तिलाई नै खतरामा पारेको उनको बुझाइ छ। गुटेरेसले युद्धरत सबै पक्षलाई संयमित बन्न र कूटनीतिक बाटोबाट समस्याको समाधान खोज्न पटक–पटक आग्रह गरिरहेका छन्।

कमेन्टहरु