विश्व

खार्ग टापु कब्जा गरे निर्मम आक्रमण गर्ने इरानको चेतावनी

एजेन्सी
२०८२ चैत्र १२ | बिहान १०:१२ बजे

तेहरान । इरान र अमेरिकाबिचको सैन्य तनावले नयाँ र खतरनाक मोड लिएको छ। खाडी क्षेत्रमा अमेरिकी सेनाको ठुलो परिचालन र इरानी टापुहरूमा सम्भावित कब्जाको सूचनाले पश्चिम एसियामा थप भीषण युद्धको बादल मडारिन थालेको हो।इरानका वरिष्ठ अधिकारीहरूले आफ्ना शत्रुहरूले कुनै क्षेत्रीय देशको सहयोगमा इरानी टापु कब्जा गर्ने योजना बनाएको दाबी गर्दै त्यस्तो प्रयास गरिए सम्बन्धित देशको ‘महत्त्वपूर्ण पूर्वाधार’ माथि निरन्तर र निर्मम आक्रमण गर्ने चेतावनी दिएका छन्।

इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिँदै इरानी सेनाले शत्रुको हरेक गतिविधिलाई नजिकबाट नियालिरहेको बताएका छन्। उनले कुनै पनि क्षेत्रीय शक्तिले इरान विरुद्धको सैन्य अभियानमा सहयोग गरेमा त्यसको मूल्य भयानक हुने स्पष्ट पारेका छन्।

विश्लेषकहरूका अनुसार गालिबाफको यो सङ्केत विशेष गरी संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लक्षित छ, जसले रणनीतिक महत्त्वको खार्ग टापु कब्जा गर्न अमेरिकालाई सहयोग गर्न सक्ने आशङ्का इरानले गरेको छ।

यता, वासिङ्टनबाट ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानलाई हार स्वीकार गर्न चेतावनी दिएकी छिन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको दाबी गरिरहँदा लेभिटको भनाइले भने सैन्य मुठभेडको सङ्केत गरेको छ। उनले राष्ट्रपति ट्रम्पले कुनै ‘ब्लफ’ वा खाली धम्की नदिएको उल्लेख गर्दै इरानले वास्तविकता नबुझेमा उसले अहिलेसम्मकै ठुलो सैन्य प्रहारको सामना गर्नुपर्ने बताएकी छिन्।

पेन्टागनले खाडी क्षेत्रमा हजारौँको सङ्ख्यामा एयरबोर्न सैनिक र नौसैनिक पठाउन सुरु गरिसकेको छ। अमेरिकी सेनाको ८२औँ एयरबोर्न डिभिजनका करिब २,००० सैनिक र विशाल युद्धपोतहरू यस क्षेत्रमा पुग्ने क्रममा छन्। अमेरिकाले एकातर्फ १५ बुँदे शान्ति योजना अघि सारेको दाबी गरेको छ भने अर्कातर्फ सैन्य घेराबन्दीलाई तीव्र बनाएको छ। इरानले भने कुनै पनि वार्ता भइरहेको कुरालाई ठाडै अस्वीकार गर्दै आफ्ना पाँच सर्तहरू अघि सारेको छ।

इरानको तस्निम समाचार एजेन्सीका अनुसार यदि इरानी भूमि वा टापुमा आक्रमण भएमा इरानले लाल सागरको प्रवेशद्वार बाब अल–मन्डेबमा नयाँ मोर्चा खोल्न सक्छ। इरान समर्थित यमनका हुथी विद्रोहीहरू पनि शत्रुलाई सजाय दिन जलमार्ग नियन्त्रणमा लिन तयार रहेको बताइएको छ।

खार्ग टापु इरानको मुख्य भूमि नजिकै रहेको र त्यहाँ अमेरिकी सेना उत्रिएमा त्यो उनीहरूका लागि आत्मघाती हुने चेतावनी तेहरानले दिएको छ। 

कमेन्टहरु