सामाजिक सञ्जालको लतले मानसिक स्वास्थ्य बिगारेको ठहर, मेटा र गुगलले ६० लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने


लस एन्जलस । आफ्नो बाल्यकाल सामाजिक सञ्जालको लतमा फसेर मानसिक स्वास्थ्य बिग्रिएको भन्दै दायर गरिएको मुद्दामा एक अमेरिकी युवतीले ऐतिहासिक जित हासिल गरेकी छिन्। लस एन्जलसको एउटा अदालतले इन्स्टाग्राम र फेसबुकको मातृ कम्पनी मेटा तथा युट्युबको सञ्चालक गुगललाई दोषी ठहर गर्दै २० वर्षीया युवती केलीलाई ६० लाख डलर क्षतिपूर्ति दिन आदेश दिएको हो।
अदालतका सदस्यहरूले मेटा र गुगलले जानाजानी आफ्ना प्लेटफर्महरूलाई लत लाग्ने गरी बनाएको र यसले ती युवतीको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको निष्कर्ष निकालेका छन्। क्षतिपूर्ति बापतको रकममा ३० लाख डलर वास्तविक क्षतिका लागि र बाँकी ३० लाख डलर दण्डात्मक जरिवानाको रूपमा तोकिएको छ।
अदालतले मेटा र गुगलले आफ्ना प्लेटफर्महरू सञ्चालन गर्दा ‘द्वेष र जालसाजी’ गरेको समेत ठहर गरेको छ। तोकिएको कुल क्षतिपूर्तिमध्ये मेटाले ७० प्रतिशत र गुगलले ३० प्रतिशत रकम व्यहोर्नुपर्नेछ।
पीडित युवतीले आफू ६ वर्षको हुँदादेखि युट्युब र ९ वर्षको उमेरदेखि इन्स्टाग्राम चलाउन थालेको बताएकी छिन्। उनले सामाजिक सञ्जालकै कारण १० वर्षको उमेरदेखि नै डिप्रेसन र एन्जाइटीको शिकार भएको र पछि आफ्नो शरीरको बनावटलाई लिएर अनावश्यक चिन्ता गर्ने बडी डिस्मोर्फिया नामक मानसिक समस्याबाट ग्रसित भएको बयान दिएकी थिइन्। उनले दिनमा १६ घण्टासम्म इन्स्टाग्राम चलाउने गरेको र उमेर नपुग्दै ती एप चलाउँदा कम्पनीहरूले कहिल्यै रोकटोक नगरेको खुलासा गरेकी छिन्।
यता मेटा र गुगलले भने अदालतको यो फैसलाप्रति असहमति जनाउँदै पुनरावेदन गर्ने बताएका छन्। मेटाले किशोर किशोरीको मानसिक स्वास्थ्य निकै जटिल विषय भएको र यसलाई एउटा मात्र एपसँग जोड्न नमिल्ने तर्क गरेको छ। गुगलले पनि युट्युब सामाजिक सञ्जाल नभई एउटा जिम्मेवार स्ट्रिमिङ प्लेटफर्म भएको दाबी गरेको छ।
यो फैसलाले अमेरिकाका विभिन्न अदालतमा विचाराधीन रहेका यस्तै प्रकृतिका सयौँ अन्य मुद्दाहरूलाई ठुलो प्रभाव पार्ने देखिएको छ। पछिल्लो समय अस्ट्रेलिया र बेलायत जस्ता देशहरूले पनि बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध वा कडाइ गर्ने विषयमा तयारी गरिरहेका छन्।





















