सौराहामा भोलिदेखि ‘फुड फेस्टिबल’ सुरु हुँदै


चितवन, चैत ११। पर्यटकीय नगरी सौराहामा २० औँ संस्करणको ‘फुड फेस्टिबल’ यही चैत १२, १३ र १४ गते आयोजना हुने भएको छ ।रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाले महोत्सवको तयारी अन्तिम चरणमा पु¥याइएको जानकारी दिएको छ । सौराहाको गैँडाचोकस्थित छत्री स्ट्रिटमा महोत्सव आयोजना गर्न लागिएको रेवानका महासचिव नवीन नेपालले जानकारी दिनुभयो ।
उन्नाइस वर्षदेखि निरन्तर आयोजना हुँदै आएको सौराहा फुड फेस्टिबलले चितवनको पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस वर्षको संस्करणले सुस्ताएको पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउने र स्थानीय व्यवसायी तथा समुदायमा नयाँ उत्साह थप्ने विश्वास लिइएको छ ।
महोत्सवका प्रमुख आकर्षणहरूमा बहुजातीय झाँकी प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक कार्यक्रम, स्थानीय तथा जनजातीय खानाको प्रदर्शनी तथा प्रतियोगिता, साथै ‘वेटर–वेट्रेस’ प्रतियोगिता रहने संयोजक खतिवडाले जानकारी दिनुभयो ।
महोत्सवका लागि रु ६० लाख खर्च हुने अनुमान गरिएको छ भने महोत्सव अवधिमा करिब रु एक करोड कारोबार हुने अपेक्षा गरिएको छ । दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।






















