‘कान्तारा’ विवाद : रणवीर सिंहले अदालतमा माफी माग्ने


बैंगलोर । बलिउड अभिनेता रणवीर सिंहले फिल्म ‘कान्तारा’ को प्रसिद्ध दैवा दृश्यको नक्कल गरी कन्नड समुदायको भावनामा चोट पुर्याएको भन्दै अप्रिल १० मा कर्नाटक उच्च अदालतमा बिना शर्त माफीनामा बुझाउने भएका छन्। उनीविरुद्ध परेको एफआईआरपछि कानुनी झमेलाबाट बच्न अभिनेताले यस्तो कदम चाल्न लागेका हुन्।
यो विवाद गत नोभेम्बरमा गोवामा आयोजित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (आईएफएफई) बाट सुरु भएको थियो। कार्यक्रमको मञ्चमा रणवीरले ऋषभ शेट्टीको आइकनिका दैवा दृश्यको नक्कल गरेका थिए। उनले कान्तारामा देखाइएको चामुन्डा देवीको पात्रको मजाक उडाएको भन्दै सामाजिक सञ्जालमा उनको कडा आलोचना भएको थियो।
भिडियोमा रणवीरले ऋषभ शेट्टीलाई सम्बोधन गर्दै फिल्मको प्रशंसा त गरे, तर सोही क्रममा देवीको पात्रलाई महिला भूत भन्दै नक्कल गरेका थिए। ऋषभ शेट्टीले उनलाई रोक्ने प्रयास गरे पनि रणवीरले मञ्चबाट ओर्लिएपछि पनि सोही हर्कत दोहोर्याएका थिए।
यसअघि रणवीरले इन्स्टाग्राममार्फत सार्वजनिक माफी मागेका थिए। उनले आफ्नो उद्देश्य ऋषभको अभिनयको प्रशंसा गर्नु मात्र रहेको र कसैको आस्थामा चोट पुर्याउने नियत नभएको स्पष्ट पारेका थिए। तर, उजुरीकर्ता एवं अधिवक्ता प्रशान्त मेथलले उक्त माफीलाई देखावटी मात्र भएको बताएका छन्। उनले इन्स्टाग्राममा लेख्नु र अदालतमा आएर वा व्यक्तिगत रूपमा माफी माग्नु फरक कुरा भएको भन्दै रणवीरको आलोचना गरेका थिए।अहिले आएर कानुनी दबाब बढेपछि रणवीरले अदालतमा औपचारिक रूपमै लिखित माफी माग्ने निर्णय गरेका हुन्।






















