चौध वर्षमुनिका २७ जनामा क्षयरोग


चितवन,चैत ११। चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका पाइएको छ । नियमित परीक्षणका क्रममा जिल्लामा पहिचान भएका क्षयरोगीमध्ये २७ जना १४ वर्षमुनिका बालबालिका छन् । तीमध्ये चार जना चार वर्षमुनिका छन् ।
गत आर्थिक वर्षमा एक हजार ८९ जनामा क्षयरोगको सङ्क्रमण भेटिएको थियो । सङ्क्रमितमध्ये २२ जनाको क्षयरोगका कारण मृत्यु भएको थियो । गत वर्ष १३ हजार १०७ जनाको परीक्षण गरिएको थियो । यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको सङ¬्क्रमणका कारण हुने रोग हो । रोग लागेको सुरुआती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ ।
मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको ब्याक्टेरियाले सङ्क्रमण भई गम्भीर समस्या निम्त्याउने उहाँले बताउनुभयो । रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।
यो रोग लागेमा सूर्ति मिसाएर बनेका कुनै पनि पदार्थ सेवन नगर्ने, सुरु गरेको भए तुरुन्तै छाड्ने गर्नुपर्छ । अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन गर्न नहुने उहाँले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीको परामर्श लिई नियमित रूपमा पूरा समय छदेखि आठ महिना सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने, औषधि सेवन गर्न सुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार समय–समयमा परीक्षण गर्न उहाँ सुझाउनुहुन्छ ।






















