वन संरक्षणबाटै गाउँको मुहार फेर्दै सामुदायिक वन


बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै स्थानीय समुदायको चौतर्फी विकासमा नमूना कार्य गर्दै आएको छ। काठ दाउरा बिक्रीबाट प्राप्त हुने आम्दानीलाई गाउँको पूर्वाधार र सामाजिक क्षेत्रमा लगानी गरेर यो समूहले वन र विकासको सम्बन्धलाई बलियो बनाएको हो।
कृषि क्षेत्रमा स्थानीय किसानलाई राहत दिन सिँचाइका लागि मोटर र पाइप खरिदमा समूहले ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ। शिक्षातर्फको लगानी पनि उत्तिकै उत्साहजनक छ।
स्थानीय लक्ष्मी माध्यमिक विद्यालयलाई ३० सेट बेन्च–डेस्क र आधुनिक शिक्षणका लागि स्मार्ट बोर्ड सहयोग गरेको समूहले विद्यालय भवन निर्माणमा पनि आर्थिक टेवा पुर्याएको छ। विद्यार्थीलाई प्रोत्साहन गर्न कक्षा १० मा पढ्नेहरूलाई वार्षिक ३ हजार रुपैयाँका दरले शैक्षिक सहयोग प्रदान गर्ने गरिएको समूहका सह–सचिव अरुण गौतमले बताए।
स्वास्थ्य सेवामा पनि यो वन समूहको सक्रियता निकै प्रशंसनीय छ। गाउँका दुई स्वयंसेविकालाई वार्षिक प्रोत्साहन भत्ता, गर्भवती आमाहरूलाई पोसिलो खाना र शिशुका लागि न्यानो कपडा वितरण गर्ने कार्यले स्थानीयमा अपनत्व बढाएको छ।
बिरामी पर्दा उपचारका लागि रकम अभाव भएमा सदस्यलाई २५ हजार रुपैयाँसम्म तीन महिनाका लागि बिना ब्याज सापटी दिने व्यवस्था मिलाइएको छ। समूहका कोषाध्यक्ष मीनबहादुर सेजुवालका अनुसार हालसम्म करिब ५० जनाले यो सुविधा लिइसकेका छन्।
बेरोजगारी अन्त्य र स्वरोजगार प्रवद्र्धनका लागि समूहले उपभोक्तालाई १ लाख रुपैयाँसम्म बिना ब्याज सापटी दिने गरेको छ। दुई वर्षभित्र फिर्ता गर्ने गरी दिइने यो रकमबाट हालसम्म २० जना उपभोक्ताले आफ्नै व्यवसाय सुरु गरिसकेका छन्।
वनको संरक्षण र व्यवस्थापनले स्थानीयलाई प्रत्यक्ष रोजगारी समेत दिएको छ। झाडी सफाइ, काठ कटान र घाटगद्दीको काममा स्थानीय उपभोक्तालाई नै प्राथमिकता दिँदा एक सिजनमा एक उपभोक्ताले ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। झाडी सफाइमा मात्रै समूहले वार्षिक ७ लाख रुपैयाँ खर्च गर्ने गरेको छ, जसले गर्दा गाउँको पैसा गाउँमै रहने वातावरण बनेको छ।























