समाचार

रारा घुम्न आएकी महिला पर्यटकको मृत्यु

नवलपुर टुडे
२०८२ चैत्र ६ | मध्यान्ह ०५:१२ बजे

मुगु । रारा ताल घुम्न गएकी एक महिला पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका निवासी ३० वर्षीया सदीक्षा घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रबिराज थपलियाले जानकारी दिएका छन्।

घिमिरेको शुक्रबार बिहान ७:२५ बजे जिल्ला अस्पताल मुगुमा उपचारका क्रममा मृत्यु भएको हो । उनी आफ्ना दुई साथीहरूसँग चैत ३ गते रारा भ्रमणका लागि मुगु आएकी थिइन्।

उनीसँगै रहेका अन्य दुई जना शिशिर कोइराला (३३) र विशाल सुवेदी (२६) दुवै बाँके जिल्लाका रहेको जनाइएको छ। तीनै जना रारा क्षेत्रको सल्लेरीस्थित ‘डाफे’ होटलमा बस्दै आएका थिए।

रारा भ्रमणकै क्रममा घिमिरे अचानक बिरामी परेपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। मृतकका आफन्त हालसम्म सम्पर्कमा नआएको र उनको परिचय खुल्ने मोबाइल तथा अन्य सामान भने होटलमै रहेको जनाइएको छ।

प्रारम्भिक रूपमा लेक लागेर (उच्च स्थानको असर) मृत्यु भएको आशंका गरिएको छ। तर, वास्तविक कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने डाक्टर निर्मल नगरकोटीले बताएका छन्।

कमेन्टहरु