सेतो मच्छिन्द्रनाथको रथ तयार गरिँदै (तस्बिरहरू)


काठमाडौं, चैत ६ । सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ बनाउने कार्य सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन सुरु गरेको सेतो मच्छिन्द्रनाथ व्यवस्थापन समितिले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन अनुसार सेतो मछिन्द्रनाथको रथयात्रा गर्ने गरिन्छ । यस पटकको सेतो मच्छिन्द्रनाथको जात्रा चैत १२ गते परेकाले तृतीयाका दिन देखि नै रथ बनाउन थालिको हो।रथलाई बेतले बाध्ने गरिन्छ जसलाई नेवारी भाषामा ‘पाउ’ भन्ने गरिन्छ।
करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट खटमा राखी तीनधारा पाठशालामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ।अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।
किम्वदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए। उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ।
सोही परम्परा अनुसार अहिले पनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ।उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चार वटा मच्छिन्द्रनाथ छन्।
धार्मिक सहिष्णुताको प्रतिक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पूज्ने परम्परा छ । नेपाल न्यूज बैंक































