बिश्व

मञ्चमा फर्किँदै बीटीएस, विश्वका ३० सहरमा कन्सर्ट गर्ने

एजेन्सी
२०८२ चैत्र ६ | बिहान १०:१२ बजे

सोल । दक्षिण कोरियाको राजधानी सोलको ऐतिहासिक केन्द्र यस वर्षकै सम्भावित सबैभन्दा ठुलो साङ्गीतिक कार्यक्रमका लागि तयार भइरहेको छ । यहाँ विश्वकै चर्चित के–पप ब्यान्ड बीटीएसले दुई वर्षपछि मञ्चमा फर्किँदैछ । शनिबार ग्वाङह्वामुन स्क्वायरमा आयोजना हुने कार्यक्रममा करिब २ लाख ६० हजार दर्शक उपस्थित हुने अनुमान गरिएको छ ।

ब्यान्डका आरएम, जिन, सुगा, जे–होप, जिमिन, भी र जंगकुकले अक्टोबर २०२२ पछि पहिलोपटक संयुक्त प्रस्तुति दिन लागेका हुन् । यद्यपि, सीमित स्थानका कारण करिब २२ हजार दर्शक मात्र प्रत्यक्ष कन्सर्टस्थलमा प्रवेश पाउनेछन् भने बाँकीले बाहिर ठुला स्क्रिनमार्फत कार्यक्रम हेर्नु पर्ने बताइएको छ ।

कार्यक्रममा ब्यान्डले आफ्नो नयाँ एल्बम अरिरङका गीतहरू प्रस्तुत गर्ने तयारी गरेको छ, जुन शुक्रबार सार्वजनिक हुने बताइएको छ । विश्वभरका करोडौँ दर्शकले यस कार्यक्रमलाई नेटफ्लिक्समार्फत प्रत्यक्ष हेर्न सक्नेछन् ।

बीटीएसको पुनरागमनलाई साङ्गीतिक कार्यक्रम मात्र नभएर दक्षिण कोरियाको सांस्कृतिक प्रभाव पुनः प्रदर्शन गर्ने अवसरका रूपमा हेरिएको छ । ब्यान्ड उत्कर्षमा रहेका बेला सदस्यहरूले अनिवार्य सैनिक सेवा पूरा गर्नुपरेपछि ब्यान्ड केही समय निष्क्रिय बनेको थियो । सन २०२२ मा जिनबाट सुरु भएको सेवा क्रम सुगाले गत वर्ष जुनमा पूरा गरेपछि पूर्ण समूह पुनर्मिलन सम्भव भएको हो ।

कार्यक्रमको सुरक्षाका लागि करिब ७ हजार प्रहरी खटाइएको छ, जसमा विशेष स्वाट टोली र एन्टी–ड्रोन प्रणालीसमेत प्रयोग गरिने जनाइएको छ । सहरका प्रमुख स्थलहरूलाई बैजनी रङले सजाइँदै कार्यक्रमलाई अझ विशेष बनाउने तयारी गरिएको छ । बीटीएसले आगामी महिनादेखि ३० भन्दा बढी सहरहरूमा ८२ वटा कन्सर्टसहितको विश्व भ्रमण पनि सुरु गर्ने योजना बनाएको छ, जसले उनीहरूको पुनरागमनलाई झन् भव्य बनाउने अपेक्षा गरिएको छ । 

कमेन्टहरु