प्रबास

सिड्नी जाँदै गरेको डेल्टाको उडानमा टर्बुलेन्स, धेरै घाइते

एजेन्सी
२०८२ चैत्र ६ | बिहान १०:१२ बजे

वासिङ्टन डीसी । अमेरिकी विमान सेवा प्रदायक कम्पनी डेल्टा एयरलाइन्सको लस एन्जलसदेखि सिड्नी जाँदै गरेको उडान शुक्रबार बिहान अवतरणका क्रममा टर्बुलेन्समा परेपछि केही यात्रु तथा चालक दलका सदस्य घाइते भएका छन्। कम्पनीका प्रवक्ताका अनुसार डेल्टा फ्लाइट ४१ सिड्नी विमानस्थलमा अवतरण गर्ने क्रममा थोरै समय टर्बुलेन्समा परेको थियो ।

न्यू साउथ वेल्स एम्बुलेन्स सर्भिसका अनुसार घटनापछि पाँच जनाको स्वास्थ्य परीक्षण गरिएको थियो, जसमध्ये तीन जनालाई ढाड दुख्ने र टाउको दुख्ने जस्ता सामान्य चोटपटकका कारण अस्पताल लगिएको छ। घाइतेहरूको उमेर ३० देखि ७० वर्षबिच रहेको जनाइएको छ। यस क्रममा चार जना फ्लाइट अटेन्डेन्ट पनि घाइते भएका छन्।

एयरबस ए३५०विमानमा २४५ यात्रु र १५ जना चालक दलका सदस्य सवार थिए। सबैलाई सुरक्षित रूपमा सिड्नी विमानस्थलमा स्थानीय समयअनुसार बिहान ६ः४८ मा अवतरण गराइएको एयरलाइन्सले जनाएको छ। आपत्कालीन टोलीलाई विमान अवतरण हुन तीन मिनेटअघि नै जानकारी दिइएको थियो र एम्बुलेन्ससहितको टोली रनवेमा तयारी अवस्थामा राखिएको थियो ।

पछिल्लो समय उडानका क्रममा टर्बुलेन्सका घटनाहरू बढ्दै गइरहेका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तन यसको प्रमुख कारण बन्न थालेको छ, जसले वायुमण्डलीय अस्थिरता बढाउँदै लगेको छ। गत वर्ष पनि डेल्टाकै एउटा उडान साल्ट लेक सिटीबाट एम्स्टर्डम जाँदै गर्दा गम्भीर टर्बुलेन्समा परेर २५ जना घाइते भएका थिए र आकस्मिक अवतरण गर्नुपरेको थियो । 

कमेन्टहरु