युरोपेली सङ्घको शिखर सम्मेलन : इरान युद्ध र युक्रेन ऋणमा केन्द्रित


काठमाडाैँ । युरोपेली सङ्घ (इयु) का नेताहरूले इरान युद्ध, बढ्दो ऊर्जा मूल्य, आप्रवासन सङ्कट र युद्धग्रस्त युक्रेनलाई ठूलो ऋण दिने विषयमा बिहीबार ब्रसेल्समा शिखर सम्मेलन गर्दैछन् । स्ट्रेट अफ होर्मुज जस्ता प्रमुख जलमार्गको सुरक्षा, तेल र ग्यास आपूर्तिमा बढ्दो दबाब र यसले उत्पन्न गर्ने वैश्विक आर्थिक असरकाे विषयलाई सम्मेलनले उच्च प्राथमिकता दिएकाे छ ।
इयुभित्रको मतभेद पनि प्रमुख एजेन्डा बन्नेछ । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बन र केही अन्य राष्ट्रहरूले युक्रेनलाई आवश्यक ऋण दिन ढिलाइ गरेका कारण गतिरोध रहँदै आएको छ ।
डिसेम्बरमा ९० अर्ब युरो (एक खर्ब चार अर्ब डलर) ऋणमा सहमति भए पनि जनवरीमा रुसी ड्रोन आक्रमण र ड्रुझबा तेल पाइपलाइन अवरुद्ध भएपछि ओर्बन पछि हटेका थिए । आगामी चुनावको तयारीमा रहेका रुस समर्थक ओर्बनले ब्रसेल्स र किएभलाई आलोचना गर्दै सार्वजनिक रूपमा आक्रामक रणनीति अपनाइरहेका छन् ।
युक्रेनका राष्ट्रपति भ्लोदिमर जेलेन्स्कीले ऋणमा अवरोध ‘पूर्णतया अनुचित’ भएको र युद्धका कारण उत्पन्न बजेट सङ्कट सामना गर्न उनीहरूको देशलाई यी कोष बाहेक विकल्प नभएको बताएका छन् । जर्मन चान्सलर फ्रेडरिक मर्जले पनि रूस विरोधी प्रतिबन्ध र युक्रेनलाई आवश्यक ऋणमा द्रुत सहमति आवश्यक रहेको भन्दै ब्रसेल्समा दृढतापूर्वक समर्थन गर्ने बताएका छन् ।
यस शिखर सम्मेलनले इयुका नेताहरूलाई ऊर्जा, सुरक्षा र वित्तीय सहयोगका संवेदनशील मुद्दामा साझा रणनीति तय गर्ने अवसर प्रदान गर्नेछ, जसले मध्यपूर्वको सङ्कट र युक्रेन युद्ध दुवैबाट उत्पन्न चुनौतीहरू सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।






















