चेक बाउन्स मुद्दामा फसेका राजपाल यादवलाई दिल्ली उच्च अदालतबाट राहत


मुम्बई । बलिउडका चर्चित हास्य कलाकार राजपाल यादवलाई चेक बाउन्सको मुद्दामा दिल्ली उच्च अदालतले केही समयका लागि राहत दिएको छ। ऋणको ठूलो हिस्सा बुझाइसकेकाले उनलाई तत्कालै जेल पठाइरहनु नपर्ने अदालतले ठहर गरेको हो।अब यस मुद्दाको अन्तिम सुनुवाइ आगामी अप्रिल १ मा हुनेछ। अदालतले यसलाई राजपालका लागि अन्तिम अवसरका रूपमा हेरिनुपर्ने स्पष्ट पार्दै अर्को पटक सुनुवाइको मिति नसर्ने चेतावनी समेत दिएको छ।
सुनुवाइका क्रममा राजपालका वकिलले हालसम्म उजुरीकर्ता कम्पनी मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेड लाई ४.२५ करोड भारु तिरिसकिएको जानकारी दिएका छन्। बुधबार मात्रै उनले थप २५ लाख भारुको डिमान्ड ड्राफ्ट अदालतमा बुझाएका छन्।
उनको अन्तरिम जमानतको अवधि बुधबार सकिन लागेकाले उनले नियमित जमानतका लागि समेत निवेदन दिएका छन्। जसले गर्दा अदालतले उनलाई अप्रिल १ सम्मका लागि समय दिएको हो।
अदालतमा न्यायाधीशले सिधै सोधेको प्रश्नमा राजपालले आफूले ऋण लिएको स्वीकार गरेका छन्। सन् २०१० मा निर्माण गरेको फिल्म ‘अता पता लापता’ का लागि उनले व्यवसायी माधव गोपाल अग्रवालबाट ५ करोड भारु ऋण लिएका थिए।
ब्याज र जरिवाना थपिँदै जाँदा उक्त रकम अहिले ९ करोड भारु पुगेको छ। सन् २०१६ को आदेश अनुसार उनले १०.४० करोड भारु तिर्नुपर्ने थियो। तर, समयमै भुक्तानी नगर्दा उनले यसअघि नै जेल जीवन समेत भोगिसकेका छन्।
राजपालले आफ्नो पक्ष राख्दै विगतमा जेल जानुपरेका कारण आफूलाई ठूलो आर्थिक नोक्सानी भएको गुनासो गरेका छन्। जेल परेका कारण एक फिल्म प्रोजेक्टबाट हात धुनुपर्दा २२ करोड भारु घाटा लागेको र त्यसले आर्थिक अवस्था थप बिग्रिएको उनको दाबी छ।
उनले सुरक्षाका रूपमा आफ्ना साथीको २८ करोड भारु बराबरको सम्पत्तिको कागजात समेत दिएको बताएका छन्। विपक्षी पक्षले पैसा लिनुभन्दा पनि आफूलाई जेल पठाउन बढी रुचि देखाएको आरोप समेत उनले लगाएका छन्।
गत फेब्रुअरी ५ मा दिल्लीको तिहाड जेलमा आत्मसमर्पण गरेका राजपाल अहिले अदालती प्रकृयामा छन्। आगामी अप्रिल १ मा हुने सुनुवाइले उनको भविष्य र बाँकी रकम भुक्तानीको योजनाबारे अन्तिम फैसला गर्नेछ।






















