बिश्व

इरानी शासन कमजोर बने पनि अस्तित्वमै रहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

एजेन्सी
२०८२ चैत्र ५ | बिहान ०८:१२ बजे

वासिङ्टन डिसी । अमेरिकाको माथिल्लो तहका गुप्तचर अधिकारीहरूले इरानी शासनको वर्तमान अवस्थाबारे संसद्‌मा महत्त्वपूर्ण जानकारी गराएका छन्। बुधबार कङ्ग्रेसमा भएको सुनुवाइका क्रममा राष्ट्रिय गुप्तचर निर्देशनालयकी निर्देशक तुलसी गब्बार्डले इरानी शासन अझै पनि अस्तित्वमा रहेको तर सैन्य र नेतृत्व तहमा भएका आक्रमणका कारण यो ‘ठूलो मात्रामा क्षय’ भएको बताएकी हुन्।

गत फेब्रुअरीमा युद्ध सुरु भएयता विश्वव्यापी खतराका विषयमा भएको यो पहिलो सार्वजनिक ब्रिफिङ हो। ट्रम्प प्रशासनका उच्च अधिकारीहरूले करिब दुई घण्टासम्म सांसदहरूका प्रश्नको सामना गरेका थिए।

यस सुनुवाइको एक दिनअघि मात्रै शीर्ष प्रतिआतंकवाद नेता जो केन्टले इरानले अमेरिकाका लागि कुनै तत्काल खतरा पैदा नगरेको दाबी गर्दै राजीनामा दिएका थिए। केन्टको उक्त दाबीका बिच गब्बार्डले गुप्तचर समुदायको मूल्याङ्कन प्रस्तुत गरेकी हुन्।

उनले इरानको सैन्य क्षमता र नेतृत्वमा भएका प्रहारले उसलाई निकै कमजोर बनाएको स्वीकार गरे पनि इरान ‘तत्कालको खतरा’ थियो वा थिएन भन्ने प्रश्नमा भने सीधा जवाफ दिन अस्वीकार गरिन्। डेमोक्र्याट सिनेटर जोन ओसोफको प्रश्नको उत्तर दिँदै गब्बार्डले कुनै पनि विषय तत्कालको खतरा हो वा होइन भन्ने निर्णय गर्ने अधिकार राष्ट्रपतिमा मात्र निहित हुने तर्क गरिन्।

सुनुवाइका क्रममा सीआइएका निर्देशक जोन र्‍याटक्लिफले भने राजीनामा दिएका जो केन्टको भनाइसँग आफू सहमत नरहेको स्पष्ट पारे। र्‍याटक्लिफले इरान लामो समयदेखि अमेरिकाका लागि निरन्तर खतरा रहँदै आएको र युद्धको समयमा त्यो खतरा झन् गम्भीर बनेको बताए।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियार विकास गरिरहेकाले अमेरिका र इजरायलको सुरक्षाका लागि आक्रमण आवश्यक भएको दाबी गर्दै आएका छन्। सन् २०२५ को जुनमा अमेरिका र इजरायलले १२ दिनसम्म गरेको आक्रमणले इरानको आणविक पूर्वाधारमा गम्भीर क्षति पुर्‍याएको र त्यसलाई पुनः प्राप्त गर्न इरानले सङ्घर्ष गरिरहेको गब्बार्डको भनाइ छ।

रोचक कुरा, गब्बार्डले तयार पारेको लिखित मन्तव्यमा इरानको आणविक संवर्द्धन कार्यक्रम नष्ट भएको र उसले यसलाई पुन: निर्माण गर्ने कुनै प्रयास नगरेको उल्लेख थियो। तर उनले सार्वजनिक रूपमा बोल्दा यो अंश पढिनन्।

डेमोक्र्याटिक सिनेटर मार्क वार्नरले यस विषयमा प्रश्न उठाउँदै राष्ट्रपति ट्रम्पको दाबीलाई काट्ने भएकाले नै गब्बार्डले उक्त अंश हटाएको आरोप लगाए। वार्नरका अनुसार राष्ट्रपतिले आणविक हतियार विकासको बहानामा युद्धको औचित्य पुष्टि गर्न खोजिरहेका बेला गुप्तचर प्रतिवेदनले त्यसको विपरित देखाउनु विरोधाभासपूर्ण छ।

यसैबिच, सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजमा भएको अवरोधका बारेमा पनि सांसदहरूले चासो व्यक्त गरेका थिए। इरानले उक्त मार्ग बन्द गरेपछि विश्वभर ऊर्जा आपूर्तिमा समस्या देखिएको छ। गब्बार्डले गुप्तचर समुदायले धेरै पहिले नै इरानले स्ट्रेट अफ होर्मुज कब्जा गर्न सक्ने आकलन गरेको र त्यसका लागि रक्षा मन्त्रालयले पूर्वतयारी योजनाहरू बनाएको जानकारी दिइन्।

सीआइए निर्देशक र्‍याटक्लिफले राष्ट्रपतिलाई यस्ता सम्भावित खतराबारे निरन्तर ब्रिफिङ भइरहेको र ऊर्जा केन्द्रहरूको सुरक्षाका लागि आवश्यक उपायहरू अपनाइएको दाबी गरे।

कमेन्टहरु