निर्यात बढ्दा जापान अधिशेषमा फर्कियो


काठमाडाैँ । कमजोर आन्तरिक तथा चिनियाँ मागबिच पनि निर्यातमा सुधार आउँदा जापानको व्यापार स्थिति फेब्रुअरीमा उल्लेखनीय रूपमा उल्टिएको छ । सरकारी तथ्याङ्कअनुसार एक महिनाअघि घाटामा रहेको जापानले फेब्रुअरीमा ५७ अर्ब ३० करोड येन (करिब ३६ करोड डलर) को व्यापार अधिशेष हासिल गरेको छ ।
अघिल्लो महिना जापानले ठूलो व्यापार घाटा व्यहोरेको अवस्थामा फेब्रुअरीको अधिशेषलाई सुधारको सङ्केतका रूपमा लिइएको छ । तर विश्लेषकहरूका अनुसार यो सुधार दीर्घकालीन रूपमा टिकाउ हुनेमा अझै अनिश्चितता कायमै छ ।
मध्यपूर्वमा इरानसँगको युद्धका कारण होर्मुज जलडमरूमध्यमा अवरोध उत्पन्न हुँदा तेल आपूर्तिमा जोखिम बढेको छ । जापानले आफ्नो लगभग सम्पूर्ण तेल आयात गर्ने भएकाले बढ्दो ऊर्जा मूल्यले आयात लागत थप बढाउने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य हालै प्रति ब्यारेल करिब १०० डलरसम्म पुगेको छ ।
भूराजनीतिक तनावबिच पनि कमजोर येनले जापानलाई केही राहत दिएको देखिन्छ । अमेरिकी डलरको तुलनामा येन कमजोर भई करिब १५९ येनसम्म पुगेको छ । यो एक वर्षअघि १५० येनभन्दा कम थियो । यसले निर्यात प्रतिस्पर्धात्मकता बढाएको विश्लेषण गरिएको छ।
यद्यपि प्रमुख व्यापार साझेदार चीनतर्फको निर्यात १०.९ प्रतिशतले घटेको छ । चन्द्र नयाँ वर्षका कारण माग असामान्य रूपमा कमजोर भएको यसका कारणमध्ये एक मानिएको छ । संयुक्त राज्य अमेरिकातर्फको निर्यात पनि आठ प्रतिशतले घटेको छ । यसमा अटो निर्यातमा आएको कमी मुख्य कारण हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सवारी साधनमा लगाएको १५ प्रतिशत भन्सार शुल्कले अटो उद्योगमा दबाब कायम राखेको छ ।
यसको विपरीत, युरोपतर्फको निर्यात भने उल्लेखनीय रूपमा बढेको । यो एक वर्षअघिको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ । एसियाका अन्य देशहरूतर्फको निर्यात पनि २.८ प्रतिशतले बढेको छ ।
अब लगानीकर्ताहरूको ध्यान बैंक अफ जापानको मौद्रिक नीतितर्फ केन्द्रित भएको छ । दुई दिने बैठकपछि ब्याजदरसम्बन्धी निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ । केसिएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररले बढ्दो तेल मूल्य अस्थायी हो कि दीर्घकालीन प्रवृत्ति बन्ने हो भन्ने मूल्याङ्कनपछि मात्र केन्द्रीय बैंकहरूले कडा नीति अवलम्बन गर्ने सङ्केत देखिन सक्ने बताए।
यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच हुने शिखर वार्ताले पनि आर्थिक र व्यापारिक सम्बन्धमा नयाँ दिशा दिन सक्ने भएकाले लगानीकर्ताहरू त्यसतर्फ पनि चासोपूर्वक हेरिरहेका छन्।






















