प्रबास

केन्याबाट कमिला तस्करी गर्न खोज्ने चिनियाँ पुरुषमाथि चलाइयो मुद्दा

एजेन्सी
२०८२ चैत्र ४ | मध्यान्ह ०३:१२ बजे

नैरोबी । केन्यामा एक चिनियाँ नागरिकमाथि मुद्दा चलाइएको छ । झाङ केकुन र उनका केन्याली सहयोगी चार्ल्स म्वाङ्गीलाई वन्यजन्तु तस्करीसम्बन्धी मुद्दा हालिएको हो ।

दुई हजारभन्दा बढी जीवित क्विन गार्डेन जातिको कमिला केन्याबाट विदेश लैजान खोज्दै गर्दा यी दुईलाई पक्राउ गरिएको थियो । झाङ केकुनलाई गत हप्ता राजधानी नैरोबीको अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो । उनीको झोलामा टेस्टट्युब र टिस्यू बेरेको अवस्थामा २ हजार भन्दा बढी जिउँदा कमिला पाइएको थियो ।

झाङले म्वाङ्गीबाट प्रत्येक सय कमिलाका लागि १० हजार केन्याली शिलिङ तिरेको मंगलबार नैरोबीको एक अदालतमा भनिएको थियो । केन्याली अधिकारीहरूले युरोप र एसियामा क्विन गार्डनको बढ्दो मागबारे चेतावनी दिइरहेका छन् । त्यहाँको केही व्यक्तिले यसलाई पेटका रुपमा राख्ने गरेका छन् । झाङले त्यस्तै उद्देश्यका लागि कमिला लैजान खोजेको हुन सक्ने अधिकारीहरूले अनुमान गरेको भएपनि उनको उद्देश्य अज्ञात छ । झाङ ती कमिला बोकेर चीनतर्फ जाँदै थिए ।

अधिकारीहरूले झाङ र म्वाङ्गी दुवैलाई गम्भीर अपराधको आरोपमा पनि पक्राउ गरेका छन् । उनीहरूले आफूहरू निर्दोष भएको दाबी गरेका छन् । झाङ र म्वाङ्गी फेरि २७ मार्चमा अदालतमा उपस्थित हुनेछन् ।

अनुसन्धानले देशका अन्य सहरमा पनि कमिला सङ्कलन भइरहेको पत्ता लागेको र यस मामिलामा थप गिरफ्तारीहरू हुन सक्ने केन्या वन्यजन्तु सेवा वरिष्ठ अधिकारीले बीबीसीसँग भनेका छन् । गत वर्ष मेमा केन्याको एउटा अदालतले हजारौं क्विन एन्ट्स विदेश लैजान खोजेको अभियोगमा चार जनालाई एक वर्ष जेल वा ७ हजार ७०० अमेरिकी डलर जरिवाना सुनाएको थियो ।

कमेन्टहरु