डोटीमा एक महिने बालकमा कोरोना संक्रमण पुष्टि

जगत ठाडा मगर
२०७७ अशोज २९ | मध्यान्ह ०७:०६ बजे

डोटी । डोटीको बोगटान फुडसिल गाउँपालिका–५ का एक महिने बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा एक महिने बालकमा संक्रमण पुष्टि भएको बोगटान फुडसिल गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम बोगटीले जानकारी दिए । उनका अनुसार संक्रमित शिशुको आमा र बुवामा पनि कोरोना संक्रमण देखिएको छ ।
रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रमा रहेका उनीहरु दसैँ मनाउनका लागि घर आएका थिए । असोज २१ गते गाउँ आई गाउँपालिकाको क्वारेन्टिनमा बसेका उनीहरुको मंगलबार स्वाब संकलन गरिएको थियो ।
संक्रमण पुष्टि भएका शिशु आमाबुवासँगै पालिकाको आइसोलेसनमा रहेका र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बोगटीले बताए । उक्त वडामा बिहीबार पाँच जनामा संक्रमण पुष्टि भएको छ ।























