ब्रेन ह्यामरेज जितेर घर फर्किए दिग्गज पटकथा लेखक सलिम खान


मुम्बई । बलिउडका चर्चित अभिनेता सलमान खानका पिता तथा दिग्गज पटकथा लेखक सलिम खान झन्डै एक महिना लामो उपचारपछि मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् । ९० वर्षको उमेरमा मस्तिष्क घात (ब्रेन ह्यामरेज) भएपछि उनलाई गत फेब्रुअरी १७ मा अस्पताल भर्ना गरिएको थियो।
अस्पतालमा रहँदा सलिम खान वरिष्ठ कन्सल्टेन्ट डा. जलील पारकरको प्रत्यक्ष रेखदेखमा थिए। बढ्दो उमेरका कारण केही जटिलता देखिएपछि गरिएको परीक्षणमा सामान्य ब्रेन ह्यामरेज पुष्टि भएको थियो। त्यसलगत्तै न्यूरोसर्जन डा.नितिन डांगेले उनको एउटा सानो शल्यक्रिया गरेका थिए।
उपचारको सुरुवाती चरणमा उनलाई केही समय भेन्टिलेटर सपोर्टमा समेत राखिएको थियो। शल्यक्रिया सफल भएपछि उनको स्वास्थ्यमा बिस्तारै सुधार आउन थालेको र अहिले उनी खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन्।
सलिम खान अस्पतालमा रहँदा पूरा खान परिवार उनको साथमा उभिएको थियो। छोराहरू सलमान खान, अरबाज खान र सोहेल खान निरन्तर अस्पताल पुगेर पिताको हेरचाहमा खटिएका थिए । बलिउडका अन्य हस्तीहरू शाहरुख खान र आमिर खानले पनि अस्पताल पुगेर सलिम खानको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
यसका साथै उनका पुराना सहकर्मी तथा दिग्गज लेखक जावेद अख्तरले पनि अस्पताल पुगेर आफ्नो घनिष्ठ मित्रको स्वास्थ्य लाभको कामना गरेका थिए। हालै अरबाज खानले पनि पिताको स्वास्थ्यमा धेरै सुधार आएको बताएका थिए।
६० को दशकमा अभिनेताका रूपमा करियर सुरु गरेका सलिम खानले तीसरी मञ्जिल जस्ता चलचित्रमा साना भूमिका निर्वाह गरेका थिए । तर पछि उनले लेखनलाई नै आफ्नो मुख्य पेसा बनाए।
६० को दशकको अन्त्यतिर जावेद अख्तरसँगको भेटपछि बलिउडको ऐतिहासिक सलिम(जावेद जोडी बन्यो। यो जोडीले शोले, दीवार, जञ्जीर, डन र मिस्टर इन्डिया जस्ता २४ वटा चलचित्र लेखे, जसमध्ये २० वटा ब्लकबस्टर साबित भए।
सन् १९८२ मा जावेदसँग अलग भएपछि पनि उनले नाम र प्यार किया तो डरना क्या जस्ता सुपरहिट चलचित्रहरू दिएर आफ्नो लेखन क्षमता प्रमाणित गरिरहे।






















