प्रबास

इजरायली आक्रमणमा शीर्ष दुई अधिकारी मारिएपछि इरानले गरिरहेछ शृङ्खलाबद्ध मिसाइल प्रहार

एजेन्सी
२०८२ चैत्र ४ | बिहान ११:१२ बजे

तेहरान । इजरायलले गरेको हवाई आक्रमणमा शीर्ष दुई अधिकारी मारिएपछि इरानलाई ठुलो धक्का लागेको छ । यसको प्रतिक्रियामा इरानले बुधवार व्यापक रूपमा क्षेप्यास्त्र र ड्रोन आक्रमण सुरु गरेको छ । इजरायली कारबाहीमा अली लारिजानी र गुलाम रेजा सुलेमानी मारिएको खबर आएको छ । लारिजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव थिए भने सोलेमानी बासिजका प्रमुख थिए । दुवै जनालाई इरानको सत्तामा महत्त्वपूर्ण र प्रभावशाली व्यक्तिका रूपमा हेरिन्थ्यो ।

यसअघि युद्धको सुरुवातमै इरानी सर्वोच्च नेता आयतुल्ला अली खामेनी मारिएपछि इरानको नेतृत्वमा ठुलो धक्का लागेको थियो । आक्रमणको जवाफमा इरानले बहु–वारहेड क्षेप्यास्त्र प्रयोग गर्दै तेल अभिभ आसपासका क्षेत्रमा प्रहार गरेको थियो । यस क्रममा रमत गानमा दुई जनाको मृत्यु भएको इजरायली स्वास्थ्य सेवाले जनाएको छ । त्यसैगरी इरानले खाडी क्षेत्रका साउदी अरब, कुवेत लगायत मुलुकहरूतर्फ पनि मिसाइल र ड्रोन प्रहार गरेको छ । जसलाई ती देशका हवाई सुरक्षा प्रणालीले अवरोध गरेको बताइएको छ । इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले खोर्रमशहर–४ र कादर जस्ता बहु–वारहेड क्षेप्यास्त्र प्रयोग गरेको भनेको छ । यी क्षेप्यास्त्रमा एकैपटक धेरै विस्फोट गराएर बढी क्षति पुर्‍याउने र हवाई सुरक्षा प्रणाली छल्ने क्षमता रहेको बताएको छ ।

यसैबिच अमेरिकाको केन्द्रीय कमान्ड (सेन्टकम)ले स्ट्रेट अफ हर्मुजनजिक इरानी मिसाइल साइटहरूमा ५ हजार पाउन्डका बंकर बस्टर बम प्रहार गरेको जनाएको छ । डोनल्ड ट्रम्पले भने उक्त क्षेत्रमा सुरक्षा सुनिश्चित गर्न सहयोगका लागि सहयोगी राष्ट्रहरूलाई आह्वान गरे पनि धेरै देशहरूले अस्वीकार गरेका छन् । स्ट्रेट अफ हर्मुजमा नियन्त्रण कायम राख्ने इरानको अडानका कारण विश्व भर ऊर्जा संकटको चिन्ता बढ्दो छ, किनकि यही मार्गबाट विश्वको ठुलो परिमाणमा तेल आपूर्ति हुन्छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले यी आक्रमणहरू इरानी शासन कमजोर पार्ने उद्देश्यले गरिएको बताएका छन् । 

कमेन्टहरु