प्रबास

लारीजानीको हत्याको ‘निर्णायक’ बदला लिने इरानको चेतावनी

एजेन्सी
२०८२ चैत्र ४ | बिहान १०:१२ बजे

तेहरान । इजरायली हवाई आक्रमणमा सुरक्षा प्रमुख अली लारीजानी मारिएपछि इरान र इजरायलबिचको तनाव चरम बिन्दुमा पुगेको छ। इरानी सेना प्रमुख अमीर हातामीले लारीजानीको हत्याको ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।

उनले एक विज्ञप्ति जारी गर्दै ‘उपयुक्त समय र स्थानमा अपराधी अमेरिका र रक्तपिपासु जायोनिस्ट शासन इजरायललाई कडा, निरुत्साहित पार्ने र पछुतो मान्नुपर्ने गरी जवाफ दिने’ बताएका हुन्। हातामीले लारीजानी र अन्य सहिदहरूको मृत्युको बदला लिएरै छाड्ने दृढता समेत व्यक्त गरेका छन्।

यसैबिच, इरानको सेनाभन्दा छुट्टै सैन्य संरचना रहेको रिभोलुसनरी गार्ड्सले लारीजानीको मृत्युको बदला लिन इजरायलको मध्य भागलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिसकेको दाबी गरेको छ। एएफपी समाचार संस्थाका अनुसार रिभोलुसनरी गार्ड्सले उक्त हमला बदलाकै स्वरूप भएको स्पष्ट पारेको छ।

इरानी पक्षबाट आएको यो प्रतिक्रिया र प्रत्यक्ष सैन्य मुठभेडले पश्चिम एसियामा थप तनावको खतरा बढाएको छ। लारीजानीको हत्याले इरानी सुरक्षा संयन्त्रमा ठुलो धक्का पुगेको विश्लेषण भइरहँदा इरानले चालेको यो कदमलाई विश्व समुदायले चासोका साथ हेरिरहेको छ।

कमेन्टहरु