अन्तर्वार्ता: पश्चिम नवलपरासी क्षेत्र नं. २ का नवनिर्वाचित सांसद नरेन्द्र कुमार गुप्तासँग


पश्चिम नवलपरासी । परिचय: नरेन्द्र कुमार गुप्ता, जो पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. २ का स्थायी बासिन्दा हुनुहुन्छ। स्नातक तहसम्मको शैक्षिक योग्यता र लामो समयदेखि व्यावसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
गुप्ता एक सक्रिय सामाजिक व्यक्तित्व र सफल व्यवसायी हुनुहुन्छ । २०३१ साल असोज १८ गते गणेश प्रसाद गुप्ता र गिरजा देवी गुप्ताको सुपुत्रका रूपमा जन्मनुभएका गुप्ता, हाल ५० वर्षको उमेरमा आफ्नो क्षेत्रको विकास र समृद्धिको अभियानमा सक्रिय हुनुहुन्छ ।
नेपालमा संघीयता कार्यान्वयनपछिको संरचना अनुसार, रामग्राम नगरपालिकाको ‘संस्थापन नगर प्रमुख’ (पहिलो मेयर) का रूपमा उहाँले आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ। नगर प्रमुखको कार्यकालमा उहाँले विकास र निर्माणका क्षेत्रमा निर्वाह गर्नुभएको भूमिकाले उहाँलाई आम नगरबासी माझ निकै लोकप्रिय बनाएको छ।
प्रश्न-उत्तर
प्रश्न : के कारणले जित्नुभयो ?
उत्तर- : “सबैभन्दा पहिले त म मेरा मतदाताहरूप्रति नतमस्तक छु। मेरो जीत नभइ जनताको ‘परिवर्तनको चाहना’ को जीत हो। परम्परागत राजनीतिबाट आजित भएका नागरिकहरूले रास्वपाको नीति र मेरो सामाजिक पृष्ठभूमिलाई विश्वास गर्नुभयो। स्थानीय स्तरमा देखिएका समस्याहरू समाधान गर्न मेरो इमानदार प्रयास र सुशासनप्रतिको प्रतिबद्धता नै मेरो जीतको मुख्य आधार हो।”
प्रश्न : अब के गर्नुपर्ने छ ?
उत्तर- : “हाम्रो क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगार मुख्य समस्या हुन्। कृषि प्रधान क्षेत्र भएकाले किसानले मल र बीउ समयमै पाउने व्यवस्था, सिँचाइको समस्या समाधान र युवाहरूलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नु मेरो प्राथमिकता हो। साथै, रामग्रामको पर्यटकीय सम्भावनालाई उजागर गर्दै रामग्राम स्तूपको विकासमा जोड दिनुपर्नेछ।”
प्रश्न : जनता माझ गरीएका वाचाहरू कसरी पूरा होलान् ?
उत्तर- : “हामी केवल आश्वासन होइन, कार्ययोजनासहित अघि बढेका छौँ। संसद्मा नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर विकासका कामलाई पारदर्शी बनाउने मेरो रणनीति हुनेछ। जनउत्तरदायी भएर काम गर्ने र प्रत्येक ३ महिना जनताको बीचमा गएर कामको ‘रिपोर्ट कार्ड’ प्रस्तुत गर्ने मेरो प्रतिबद्धता छ।”
प्रश्न : (विकासका वाचाहरू) सम्भव छ कि छैन ?
उत्तर- : “राजनीतिक इच्छाशक्ति भयो भने असम्भव केही पनि छैन। स्रोतको सही परिचालन र भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्न सकियो भने विकासको गति तीव्र हुन्छ। म एक्लैले सबै गर्न सक्दिनँ, तर जनताको साथ र सहयोगले यो क्षेत्रलाई नमुना बनाउन सकिन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।”
प्रश्न: “, संघीय सांसदको मुख्य जिम्मेवारी नीति निर्माण तहमा बसेर कानुन बनाउने र राष्ट्रिय मुद्दाहरूमा बहस गर्ने हो। तर, हाम्रो निर्वाचन क्षेत्रका मतदाताहरूको अपेक्षा भने तपाईंले प्रत्यक्ष रूपमा विकास निर्माणका कामहरू गरिदिनुहुन्छ भन्ने नै छ। सांसदको भूमिका र जनताको अपेक्षाबीचको यो खाडललाई तपाईंले कसरी पुरा गर्नुहुन्छ?”
उत्तर- : मेरो लक्ष्य भनेको नीति निर्माणको केन्द्रमा रहेर जनताको जीवनस्तर सुधार्ने कानुन बनाउनु र धरातलमा रहेर स्थानीय विकासका अवरोधहरूलाई चिर्दै कामलाई गति दिनु नै हो। जनताको भरोसालाई म कहिल्यै निराश हुन दिने छैन।”






















