विश्व

हवाई आक्रमणमा चार सय भन्दा बढीको मृत्यु भएको अफगानिस्तानी दाबी पाकिस्तानले गर्‍याे अस्वीकार

एजेन्सी
२०८२ चैत्र ३ | मध्यान्ह ०५:१२ बजे

काठमाडौँ । काबुलस्थित अस्पतालमा गरेको हवाई आक्रमणमा चार सय भन्दा बढी मानिस मारिएको भनेर अफगानिस्तानले गरेको दाबीलाई भ्रामक र असत्य भन्दै पाकिस्तानले अस्वीकार गरेको छ ।

अफगान तालिबान सरकारका प्रवक्ताले मंगलबार दिएको जानकारी अनुसार, काबुलको एक लागू औषध दुर्व्यसन पुनर्स्थापना अस्पतालमा भएको आक्रमणमा चार सय भन्दा बढीको मृत्यु र २ सय ५० जना घाइते भएको दाबी गरिएको थियो । तर पाकिस्तानले उक्त आरोप अस्वीकार गर्दै आफ्नो आक्रमण सैन्य लक्ष्यमै केन्द्रित रहेको जनाएको छ ।

पाकिस्तानका सूचना मन्त्री अताउल्ला तरारले सामाजिक सञ्जालमार्फत भने, ‘हामीले सटीक रूपमा सैन्य संरचना र आतङ्कवादी सहयोग पूर्वाधारलाई मात्र निशाना बनाएका हौँ ।’ 

आक्रमणपछि देखिएका विस्फोटहरूले त्यहाँ ठुलो मात्रामा हतियार भण्डारण गरिएको सङ्केत दिएको पनि उनले बताए । दुवै छिमेकी देशबिच गत महिना सुरु भएको द्वन्द्व पछिल्लो समय निकै चर्किएको छ । करिब २ हजार ६०० किलोमिटर लामो साझा सीमा भएका यी दुई देशबिचको यो हालसम्मकै गम्भीर तनावपूर्ण अवस्था मानिएको छ ।

यसअघि केही मित्र राष्ट्रहरूले मध्यस्थता गर्दै स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए । विशेष गरी चीनले दुवै पक्षलाई संयमता अपनाउन र वार्तामा फर्किन आग्रह गरेको थियो । 

चीनले अझै पनि तनाव कम गर्न सहयोग गर्न तयार रहेको जनाएको छ । तर विशेष गरी रमजान महिनाको अन्त्यमा मनाइने एल अल–फित्र नजिकिँदै गर्दा भएको पछिल्लो हवाई आक्रमणले परिस्थिति फेरि जटिल बनाएको छ।

इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमण र त्यसपछि विकसित घटनाक्रमका कारण पश्चिम एसिया अस्थिर बनेको समयमा पाकिस्तान र अफगानिस्तान द्वन्द्वमा फसेका छन् । 

विश्लेषकहरूका अनुसार दक्षिण एसिया र पश्चिम एसिया दुवैतिर बढ्दो तनावले क्षेत्रीय सुरक्षा मात्र होइन, अन्तर्राष्ट्रिय स्थिरतामा समेत गम्भीर प्रभाव पार्न सक्छ । 

कमेन्टहरु