बिश्व

इरान युद्धको प्रभावले अमेरिकामा डिजेलको औसत मूल्य बढ्याे

एजेन्सी
२०८२ चैत्र ३ | मध्यान्ह ०५:१२ बजे

काठमाडौँ । अमेरिकामा डिजेलको औसत खुद्रा मूल्य सोमबार प्रति ग्यालन ५ डलरमाथि उक्लिएको छ । डिजेलको मूल्य यस स्तरमा पुगेको यो दोस्रो पटक हो । इरानमा अमेरिका र इजरायलको आक्रमणपछि पश्चिम एसियाभर द्वन्द्व चर्किरहेको समयमा औद्योगिक इन्धनको आपूर्ति सिमित हुँदा भाउ बढेको हो । 

इन्धन बजार ट्र्याक गर्ने  ग्यासबडीका अनुसार, अमेरिकामा डिजेलको राष्ट्रिय औसत मूल्य सोमबार प्रति ग्यालन ५ डलरमाथि पुगेको छ । यसअघि २०२२ को डिसेम्बरमा डिजेलको खुद्रा मूल्य यस स्तर माथि गएको थियो । त्यतिबेला रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व तेल बजार प्रभावित हुँदा सोको असर अमेरिकामा समेत पोखिएको थियो ।

डिजेल मूल्यमा आएको यस प्रकारको वृद्धि विश्वको आर्थिक गतिविधिमा ढिलाइ ल्याउन सक्ने चेतावनी विशेषज्ञहरूले दिएका छन् । डिजेल उत्पादन र ढुवानीमा व्यापक रूपमा प्रयोग हुने इन्धन हो । 

उत्पादन र ढुवानी लागत बढ्दा अन्ततः उपभोक्तासम्म मूल्य वृद्धि पुग्ने सम्भावना रहन्छ । पश्चिम एसियामा विशेष गरी अमेरिकाले इजरायलसँग मिलेर इरानमाथि गरेको सैन्य कारबाहीले विश्वको डिजेल आपूर्ति शृङ्खलामा ठुलो असर पारेको छ ।

स्ट्रेट अफ हर्मुजमा इरानको लगभग पूर्ण नाकाबन्दीले विश्वव्यापी समुद्री डिजेल आपूर्तिको २० प्रतिशतसम्म प्रभावित भएको छ । साथै, एसियाली रिफाइनरीहरूमा मध्यपूर्व कच्चा तेलको प्रवाह घटेसँगै उत्पादनमा कटौती भएको छ, जसले डिजेल उपलब्धतामा थप असर पुर्‍याएको छ ।

यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य विश्व नेताहरूले रणनीतिक भण्डारबाट तेल निकाल्ने जस्ता कदमहरू उठाए पनि हालसम्म मूल्य वृद्धिलाई खासै असर पारेको छैन । सोही क्रममा अमेरिकी औसत पेट्रोल मूल्य पनि ग्यालनकै ३ डलर ७६ सेन्ट ग्यालन पुगेको छ ।

अमेरिकामा पेट्रोलको भाउ २०२३ को अक्टोबरयताकै उच्च स्तरमा उक्लिएको छ ।  ग्यासबडीमा पेट्रोलियम विश्लेषण प्रमुख प्याट्रिक डे हानका अनुसार, जबसम्म स्ट्रेट अफ हर्मुजमा तेलको प्रवाह पर्याप्त रूपमा पुनः सुरु हुँदैन, तबसम्म इन्धन मूल्यमा बढ्दो दबाब कायम रहन सक्नेछ । 

कमेन्टहरु