७० दिनसम्म लगातार गन्ती गरेर नाइजेरियाली महिलाले तोडिन् १८ वर्ष पुरानो विश्व कीर्तिमान


नाइजेरिया,चैत ३। गिनिज वर्ल्ड रेकर्ड्सले समयसमयमा अनौठा र कठिन कीर्तिमानहरू दर्ता गर्ने गर्छ, जसमध्ये नाइजेरियाकी फेभर ओगेची अनीको पछिल्लो सफलता निकै चर्चामा छ। उनले ७० दिनसम्म आफ्नै घरमा थुनिएर ठुलो स्वरले १० लाख ७० हजारसम्म गन्ती गरेर सबैलाई अचम्मित पारेकी छिन्।
आफ्नो अनुभव सुनाउँदै फेभरले यो यात्रा निकै कठिन भए पनि गन्तीप्रतिको उनको तीव्र इच्छाले नै यहाँसम्म पुऱ्याएको बताइन्। उनले यस कार्यलाई जस्तोसुकै मूल्यमा पनि पूरा गर्ने लक्ष्यका रूपमा लिएकी थिइन्, जहाँ पछि हट्ने कुनै विकल्प थिएन।
उनले आफ्नो दैनिक गन्तीको कार्यलाई युट्युबमार्फत प्रत्यक्ष प्रसारण समेत गरेकी थिइन्, जसले उनको दाबीलाई प्रमाणित गर्न मद्दत पुयायो। यस चुनौतीपूर्ण यात्रामा उनलाई साथ दिने एउटा टोली समेत थियो, जसले उनलाई निरन्तर हौसला दिइरह्यो।
७० औं दिनमा अन्तिम अङ्क उच्चारण गर्दा आफू निकै भावुक भएको र सो क्षण राहत र खुसीको सम्मिश्रण रहेको उनले सुनाइन्। जीवनमा केही नयाँ र असाधारण काम गर्ने भित्री चाहनाले नै आफूलाई यो अनौठो विश्व कीर्तिमान बनाउन प्रेरित गरेको उनको भनाइ छ।






















