दुबई यूएई

सहमतिबाट टुंगियो एनआरएनएको नेतृत्व विवाद, हेमराज शर्मा अध्यक्षमा चयन

कबिराज राजबंशी
२०८२ चैत्र २ | मध्यान्ह ११:१२ बजे

IMG 20260316 214311

प्रवास दुवई— गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि देखिएको नेतृत्व विवाद अन्ततः सहमतिमा टुंगिएको छ। संघको अध्यक्ष पदमा हेमराज शर्मा चयन भएका छन्। अध्यक्ष पदका अर्का प्रमुख दाबेदार रविन बज्राचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि नेतृत्व सहमतिमा पुगेको हो।

 

रविन बज्राचार्यले पत्रकार सम्मेलन गर्दै संगठनको एकता र संस्थागत हितलाई प्राथमिकता दिँदै आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन्। उनले व्यक्तिगत प्रतिस्पर्धाभन्दा संघको मजबुती महत्वपूर्ण रहेको उल्लेख गर्दै हेमराज शर्मालाई समर्थन गर्ने निर्णय गरेको बताएका छन्।

 

एनआरएनए भित्र पछिल्लो समय नेतृत्व चयनलाई लिएर विभिन्न धारणा र मतभेद देखिएका थिए। ती मतभेदले संगठनभित्र विभाजनको अवस्था सिर्जना हुने चिन्ता व्यक्त भइरहेको थियो। तर दुवै पक्षबीच सहमति भएपछि नेतृत्व चयन प्रक्रिया सहज बनेको छ।

 

हेमराज शर्मा लामो समयदेखि प्रवासी नेपाली समुदायमा सक्रिय रूपमा काम गर्दै आएका व्यक्ति हुन्। उनले एनआरएनए भित्र विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनको गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। प्रवासी नेपालीका समस्या समाधान, नेपालमा लगानी प्रवर्द्धन तथा नेपाल र प्रवासी समुदायबीचको सम्बन्ध सुदृढ बनाउन उनले निरन्तर पहल गर्दै आएका छन्।

 

नयाँ नेतृत्व चयन भएसँगै अब संघले आफ्नो आगामी कार्ययोजना र कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। संघका सदस्यहरूले सहमतिबाट नेतृत्व चयन भएकोलाई सकारात्मक कदमका रूपमा लिएका छन्।

 

प्रवासी नेपाली समुदायले पनि संगठनभित्र एकता कायम राख्दै विश्वभर रहेका नेपालीहरूको हितमा काम गर्न नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरेका छन्।

कमेन्टहरु