प्रबास

कतार ग्रान्ड प्रिक्स स्थगित

एजेन्सी
२०८२ चैत्र १ | मध्यान्ह ०४:१२ बजे

काठमाडौँ । अर्को महिना हुने तय भएको कतार ग्रान्ड प्रिक्स स्थगित भएको छ । मध्यपूर्वमा जारी द्वन्द्वतर्फ औँल्याउँदै आयोजकले यस्तो निर्णय गरेका हुन् । 

अप्रिलका लागि तय गरिएको कतार ग्रान्ड प्रिक्स अब नोभेम्बर ८ मा आयोजना गरिने मोटोजीपीको  नियामक निकायले आइतबार जारी गरेको विज्ञप्तिमा भनेको छ ।

यो प्रतिस्पर्धा लुसेल अन्तर्राष्ट्रिय सर्किटमा अप्रिल १० देखि १२ सम्म हुने तालिका थियो । तर क्षेत्रीय सुरक्षा अवस्था र भूराजनीतिक तनावका कारण प्रतियोगिताको मिति परिवर्तन गरिएको आयोजकले जनाएको छ । 

आयोजकका अनुसार विस्तृत परामर्श र क्यालेन्डर विश्लेषणपछि मोटोजीपीको समग्र तालिकामा न्यूनतम असर पर्ने गरी नयाँ मिति तय गरिएको हो । संशोधित तालिकाअनुसार पोर्चुगिज ग्रान्ड प्रिक्स नोभेम्बर २२ मा हुनेछ भने सिजनको अन्तिम प्रतिस्पर्धा भ्यालेन्सिया ग्रान्ड प्रिक्स नोभेम्बर २९ मा आयोजना गरिनेछ ।

यसअघि आइतबार नै फर्मुला वन र यसको नियामक संस्था फेडेरेशन इन्टरनेशनल डे लुअटोमोबाइलले पनि सुरक्षा चिन्ताका कारण अप्रिलमा हुने बहराइन ग्रान्ड प्रिक्स र साउदी अरेबियन ग्रान्ड प्रिक्स आयोजना नहुने घोषणा गरेका छन्। 

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले जवाफी कारबाही गर्दा बहराइन र साउदी अरबमा पनि सुरक्षा जोखिम बढेको जनाइएको छ। 

कमेन्टहरु