रमाइलोका लागि ट्रम्पले इरानमाथि बमबारी जारी राख्ने भनेपछि…


वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग तत्काल सम्झौता गर्न आफू तयार नभएको बताएका छन् । उनले इरानको प्रमुख तेल निर्यात केन्द्र मानिने खर्ग टापुमा रमाइलोका लागि भए पनि बमबारी जारी राख्न सक्ने संकेत दिएका छन् ।
इरानले नियन्त्रणमा लिएको दाबी गरिएको प्रमुख समुद्री मार्ग खुला नभएसम्म अमेरिकाले कारबाही जारी राख्ने उनलेबताएका छन् । उक्त जलमार्गबाट विश्वको झन्डै २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ढुवानी हुने गर्छ । यस मार्गलाई इस्लामिक रिभोलुशनरी गार्ड कप्र्सले पूर्ण नियन्त्रणमा लिएको दाबी गरेको छ ।
शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले उक्त नाकाबन्दी अन्त्य गर्न धेरै देशलाई युद्धपोत पठाउन आह्वान गरेका छन् । उनले बेलायत, चीन, जापान, फ्रान्स र दक्षिण कोरियालाई यसमा सहभागी हुन आग्रह गरेका छन् । यसैबीच इरानी ड्रोन आक्रमणपछि फुजैराह बन्दरगाहमा आगलागी भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको यो बन्दरगाह मध्यपूर्वकै ठूलो तेल भण्डारण केन्द्रमध्ये एक भएकाले केही सञ्चालन स्थगित गरिएको छ ।
रमाइलोका लागि बमबारी जारी राख्न सकिने ट्रम्पको टिप्पणीपछि विश्वसनीय सुरक्षा साझेदारको रुपमा अमेरिकाको छविबारे प्रश्न उठेको विश्लेषकहरूले बताएका छन् । कतारस्थित सञ्चारमाध्यम अल जजिरासँग कुरा गर्दै लन्डनको किङ्स कलेजमा युद्ध अध्ययनका भिजिटिङ लेक्चरर समिर पुरीले कुनै महाशक्तिले सुरक्षा ग्यारेन्टी दिँदा केवल सैन्य क्षमता वा हतियार मात्रै होइन, जिम्मेवार रणनीतिक सोच पनि महत्त्वपूर्ण हुने बताए ।
उनका अनुसार सुरक्षा साझेदारको रूपमा विश्वसनीय बन्न राष्ट्रले स्थायित्व र विवेकपूर्ण निर्णय गर्ने क्षमता देखाउनुपर्छ । ट्रम्प प्रशासनका अन्य सदस्यहरूको व्यवहारले पनि खाडी देशहरूलाई अमेरिका दीर्घकालीन रूपमा स्थिर साझेदार हो कि होइन भन्नेबारे प्रश्न उठाउन बाध्य पार्र्ने पनि उनले बताए ।
अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले इरानसँगको युद्धमा विनाशप्रति अत्यधिक उत्साह देखाइरहेको जस्तो देखिने टिप्पणी पनि गरेका छन् । इरान र अरब देशहरूबीच लामो समयदेखि प्रतिस्पर्धा रहे पनि खाडी क्षेत्रका देशहरू स्थायित्व चाहने उनी भन्छन् । त्यसैले अहिले मुख्य प्रश्न अमेरिकाले यस क्षेत्रमा स्थायित्व कायम राख्न सक्छ कि सक्दैन भन्ने रहेको उनले बताए । पुरीका अनुसार अमेरिका र इजरायलले वार्ताकै बीचमा इरानमाथि आक्रमण गरेपछि इरानको धार्मिक शासन अझ कट्टर बन्ने सम्भावना रहेको र यसले क्षेत्रीय तनावलाई थप बढाउन सक्नेछ ।






















