समाचार

कार्की आयोगको प्रतिवेदन सार्वजनिकका लागि सरकारलाई दबाब दिन आज सडकमा उत्रिँदै जेन–जी

नवलपुर टुडे
२०८२ चैत्र १ | बिहान ११:१२ बजे

काठमाडौं । जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिकका लागि सरकारलाई दबाब दिन जेन–जी नेतृत्वमा आज सडकमा प्रदर्शन हुने भएको छ । आज दिउँसो १ बजे माइतीघरमा भेला भएर गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न र कार्यान्वयन गर्न दबाब दिने कार्यक्रम राखिएको हो ।

जेन–जी अगुवा रक्षा बमका अनुसार आज १ बजेदेखि सरकारलाई दबाब दिने विभिन्न कार्यक्रम सुरु हुने छन् । कार्यक्रममा प्लेकार्ड बोकी शान्तिपूर्ण धर्ना दिने योजना रहेको छ ।

सरकारले गत २३ र २४ भदौमा भएको विद्रहोको निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो, र आयोगले आफ्नो प्रतिवेदन पनि बुझाइसकेको छ । २४ फागुनमा बुझाइएको उक्त प्रतिवेदन अझै सार्वजनिक नभएको र कार्यान्वयनमा नआएको भन्दै तुरुन्त कार्यान्वयनमा लैजान दबाब दिन यो कार्यक्रम गरिएको आयोजकहरूले बताएका छन् ।

‘यो सरकारको मुख्य जिम्मेवारी २१ फागुनमा चुनाव गराउनु थियो, त्यो सम्पन्न भइसकेको छ,’ उनीहरूले भनेका छन्, ‘चुनावसँगै अर्को जिम्मेवारी आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पनि हो । जेन–जीसँग सरकारले गरेको सम्झौतामा पनि यही कुरा उल्लेख छ ।’ उनीहरूले यही सरकारले प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनमा लैजाँदा समस्या नहुने बताएका छन् ।

‘गौरीबहादुर कार्की आयोगको पूरा प्रतिवेदन खोइ सरकार ?’ भन्ने सन्देशसहित सामाजिक सञ्जालमार्फत माइतीघरमा भेला हुन आह्वान गरिएको छ । उक्त सन्देश जेन–जी मुभमेन्ट अलायन्स, नेपाल जेन–फ्रन्ट र जेन–जी सिभिल फोरमको संयुक्त सहभागितामा जारी गरिएको हो ।

कमेन्टहरु