शिक्षा

छापेर सकियो, चैतको दोस्रो साताबाट बिक्री सुरु

नवलपुर टुडे
२०८२ चैत्र १ | बिहान १०:१२ बजे

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्रको सबै पाठ्यपुस्तक छपाइ सकेको छ । केन्द्रले आगामी शैक्षिक सत्र २०८३ का लागि १ करोड ७१ लाख थान पाठ्यपुस्तक छपाइ सकेको हो । छपाइ भएका सबै पाठ्यपुस्तक प्रदेश कार्यालयमा पु¥याइसकेको छ । चैत १० देखि १५ भित्र बिक्रीवितरण सुरु गर्न सबै प्रादेशिक कार्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले यो वर्ष १ करोड ७१ लाख थान छपाइ सकेको र गतवर्षको १० लाख थान पाठ्यपुस्तक स्टकमा रहेको जानकारी दिनुभयो । जम्मा गरी १ करोड ८१ लाख थान पुस्तक बिक्री गर्ने योजना केन्द्रको छ ।

पाठ्यपुस्तक अभाव हुन नदिन केही थप संख्यामा छपाइ गरिरहेको उहाँको भनाइ थियो । निर्वाचन र कक्षा १० को एसईई परीक्षाको उत्तरपुस्तिका छपाइ गर्दा पनि पाठ्यपुस्तक छपाइमा कुनै समस्या नपरेको केन्द्रको भनाइ छ । शैक्षिक सत्र सुरु हुनु करिब तीन साताअघि सबै जिल्लामा पाठ्यपुस्तक पुगिसक्ने केन्द्रको दाबी छ ।

प्रबन्ध सञ्चालक पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘एक दुई दिनभित्र मन्त्रालय र बिक्रेतासँग बैठक बसेर कार्यतालिकासहित बिक्री सुरु गर्नेछौं ।’ उहाँले कर्णालीका लागि सुर्खेत, सुदूरपश्चिमका लागि धनगढी र मनाङ र मुस्ताङका लागि गण्डकी प्रदेश कार्यालय पोखरामा पाठ्यपुस्तक पुगिसकेको बताउनुभयो ।

सरकारले आगामी शैक्षिक सत्रमा निःशुल्क पाठ्यपुस्तकका लागि वार्षिक २ अर्ब बजेट विनियोजन गरिसकेको छ । स्थानीय तहमार्फत उक्त रकम विद्यालयमा पुग्नेछ । विद्यालयले विद्यार्थी संख्याको आधारमा रकम भुक्तानी गर्नेछ ।

आगामी वर्ष जनक शिक्षाले कक्षा ३ र ५ देखि १० सम्म १ करोड ७१ लाख थान पुस्तक छाप्ने जिम्मा पाएको छ । सरकारले कक्षा १, २ र ४ गरी तीनवटा कक्षाकोे पुस्तक छपाइ र बिक्री गर्ने जिम्मा निजीलाई दिएको छ । निजी प्रकाशकले गतवर्षको स्टक भन्दै कक्षा ५ को पाठ्यपुस्तक छापेर बिक्री गर्नसक्ने आशंका छ । गतवर्ष पनि निजीका कारण केन्द्रले १ देखि ५ सम्मको पाठ्यपुस्तक बिक्री गर्न सकेको थिएन । केन्द्रको आँकडाअनुसार १–५ को करिब १० प्रतिशतमात्र पाठ्यपुस्तक बिक्री भएको थियो ।

केन्द्रले ९ प्रतिशत कमिसन दिन्छ भने निजीले २२ प्रतिशतसम्म कमिसन दिने गरेको छ । बढी कमिसन दिएका कारण केही विद्यालयले कमिसनको लोभमा निजीसँग पाठ्यपुस्तक खरिद गर्ने गरेको छ । स्रोतका अनुसार यो वर्ष पनि केही सरकारी विद्यालयले कक्षा १, २ र ४ कक्षाको निजीकै पाठ्यपुस्तक किन्ने तयारी गरेको छ ।

प्रबन्ध सञ्चालक पौडेलले फितलो अनुगमनका कारण पुस्तक बिक्री घटेको दाबी गर्नुभयो । हामी विद्यार्थी संख्याको आधारमा १, २ र ४ कक्षाको पुस्तक छपाइसकेका छौं । तर, निजी र अन्य केही सरकारीले आर्थिक लोभको कारण निजीको पुस्तक प्रयोग गर्ने सम्भावना छ । केन्द्रले पुस्तकमा निजीले गर्ने गरेको हस्तक्षेप नियन्त्रण गर्न भोलि सोमबार मन्त्रालय र सरोकारवाला निकायसँग बैठक बस्ने तयारी गरेको छ ।

‘आगामी वर्ष केन्द्रले कक्षा ३ र ५ देखि १२ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको छ । २५० जनशक्तिले निरन्तर पाठ्यपुस्तक छपाइ जारी राखेको जनाएको छ । ‘हामी कुनै पनि हालतमा पुस्तक अभाव हुन दिन्नौं, समयमै सबै विद्यार्थीको हातहातमा पुस्तक पुग्नेगरी तयारी थालेका छौं’ –प्रबन्ध सञ्चालक पौडेलको भनाइ थियो । ‘यस वर्ष योजनाअनुसार नयाँ शैक्षिक सत्रको सुरुआतमा विद्यार्थीको हातहातमा पुस्तक पुग्नेगरी केन्द्रका ८ शाखा कार्यालयमा पुस्तक पु¥याइसकेका छौं’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

केन्द्रका अनुसार जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग सानोठिमी, वागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरा, कोसी प्रदेश कार्यालय विराटनगर, मधेस प्रदेश कार्यालय जनकपुर, लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र नेपालगञ्जबाट पाठ्यपुस्तक ढुवानी र जिल्लास्थित बिक्रेताबाट बिक्री हुनेछ । यसअघि केन्द्रले विगत तीन वर्षयता समयमै पाठ्यपुस्तक छपाइ र बिक्री गर्ने गरेको छ । सरकारले भर्ना अभियानकै दिनबाट विद्यालयमा भर्ना हुन आएका विद्यार्थीको हातहातमा पुस्तक दिने तयारी गरेको छ ।

कमेन्टहरु