रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने


गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ । राष्ट्रिय राजमार्गअन्तर्गत उक्त सडकखण्डको सत्यवती गाउँपालिकास्थित सिस्ने भीरमा सडक स्तरोन्नति गर्ने काम सुरु भएसँगै चैत १ देखि ३० गतेसम्म सडक पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाको पत्रअनुसार उक्त राजमार्गको अतिसंवेदनशील र साँघुरो स्थान सिस्ने भीरमा सडक कटिङ गर्ने क्रममा ढुंगा खस्ने जोखिम बढ्न सक्ने र दुर्घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैह्रेले जानकारी दिए ।
प्रशासनले उक्त सडक स्तरोन्नति गर्दा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गरी यातायात सञ्चालन र आवागमन गर्न आग्रह गरेको छ । कार्यालयले वैकल्पिक सडकका रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
कार्यालयले उक्त कार्यमा आवश्यक सहयोग एवं सहजीकरणका लागि मुसीकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई समेत पत्राचार गरेको छ । प्रशासनले सार्वजनिक रूपमा सूचना जारी गरी उक्त सडक एक महिनाका लागि २४सै घण्टा बन्द रहने जनाएको हो ।
सडक डिभिजन कार्यालयले गत माघ २६ देखि फागुन १५ गतेसम्म २० दिन आंशिक रूपमा बन्द गरी सडक स्तरोन्नतिको काम गरेको थियो । जिल्लामा सबैभन्दा धेरै सवारीसाधन सञ्चालन हुने उक्त सडक गुल्मीको वामीटक्सारबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङको बुर्तिबाङसम्म सवारीसाधन ओहोरदोहोर गर्ने मुख्य सडकअन्तर्गत पर्छ ।






















