चितवनमा आइसोलेसन खाली, आईसीयू भरिए


चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा कोरोना संक्रमणका गम्भीर बिरामीको उपचारमा समस्या हुन थालेको छ । कोरोना संक्रमितको उपचारका लागि आईसीयू र भेन्टिलेटरको अभाव हुने देखिएको अस्पताल सञ्चालकहरु बताउँछन् ।
भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजजस्ता ठूला अस्पतालमा संक्रमितका लागि छुट्याइएका आईसीयू बेड भरिन थालेपछि अब गम्भीर खालका संक्रमितलाई कहाँ राख्ने भन्ने चिन्ता बढेको छ ।
पछिल्ला दिनमा अस्पतालहरुले संक्रमितका लागि आईसीयू बेड मिलाइदिनुपर्यो भन्ने दबाब झेल्न थालेका छन् । जिल्लाका साना निजी अस्पतालले कोरोना संक्रमितको उपचार गरेका छैनन् । ठूला अस्पताल र मेडिकल कलेजमा कोरोना संक्रमितका साथसाथै अन्य रोगका बिरामीको पनि उपचार भइरहेको छ ।
कोरोना संक्रमितको उपचार गराइरहेको चितवन मेडिकल कलेजको आईसीयू र एचडीयू बेड भरिभराउ छन् । सो अस्पतालको भेन्टिलेरमा ४ जना संक्रमित छन् । २२० बेडको आइसोलेसन रहेको यो मेडिकल कलेजमा आइसोलेसनमा भन्दा आईसीयूमा बढी चाप छ । पुरानो मेडिकल कलेजले तीन भेन्टिलेटर, १६ बेडको आईसीयूसहित १०० बेडको आइसोलेसन बनाएको छ ।
भरतपुर अस्पतालको १० बेड आईसीयू भरिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । उनका अनुसार अस्पतालको सामान्य आइसोलेसन बेडमा चाप छैन तर कोभिड आईसीयूमा एक जना पनि संक्रमित राख्ने ठाउँ छैन ।























