दुर्घटना

गोरखामा ईभी माइक्रो दुर्घटना अपडेट: सात भारतीय नागरिकको मृत्यु

नवलपुर टुडे
२०८२ चैत्र १ | बिहान ०६:१२ बजे

गोरखा। मनकामना मन्दिरको दर्शन गरी फर्कदै गरेको विद्युतीय (ईभी) माइक्रोबस गोरखाको शहीदलखन गाउँपालिका–३, कनटारमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

शनिबार राति करिब ८ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउने सबै जना भारतीय नागरिक भएको पुष्टि भएको छ। बागमती प्रदेश ०६–००६ ख ८४३० नम्बरको माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। उक्त बसमा चालकसहित जम्मा १५ जना सवार रहेको बुझिएको छ।

दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य आठ जनालाई उद्धार गरी अस्पताल पठाइएको छ। घाइतेमध्ये सात जनाको तनहुँको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ। एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनको भरतपुर रेफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको छ।

घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए। ओरालो बाटोमा गुडिरहेको ईभी गाडीको ‘ब्रेक’ तातेर फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

कमेन्टहरु