प्रबास

जेफ्री एपस्टिनसँगै एन्ड्रयू र म्यान्डलसनको तस्बिर सार्वजनिक

एजेन्सी
२०८२ फाल्गुन ३० | बिहान ०९:११ बजे

लण्डन । अमेरिकी न्याय विभागले सार्वजनिक गरेका दस्ताबेजहरूमा कुख्यात यौन अपराधी जेफ्री एपस्टिनसँगै एन्ड्रयू माउन्टब्याटन–विन्डसर र लर्ड पिटर म्यान्डलसनको एउटा नयाँ तस्बिर फेला परेको छ। यी तीनै जनालाई एकैसाथ देखिएको यो पहिलो तस्बिर हो, जुन अमेरिकाको मार्थाज विनयार्डमा खिचिएको विश्वास गरिएको छ।

सन् १९९९ देखि २००० को बिचको मानिएको यस तस्बिरमा उनीहरू एउटा काठको टेबल वरिपरि बसिरहेको देखिन्छन्। यो तस्बिर एपस्टिनलाई यौन अपराधीको रूपमा जेल सजाय हुनुभन्दा अघिको हो। यद्यपि, यी दस्ताबेजहरूमा तस्बिर सार्वजनिक हुनुले मात्र कुनै गलत कार्यको पुष्टि भने गर्दैन।

यसअघि नै माउन्टब्याटन–विन्डसर र लर्ड म्यान्डलसन दुवै एपस्टिनसँगको सम्बन्ध र सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा पक्राउ परी अनुसन्धानका लागि रिहा भइसकेका छन्। दुवैले आफूहरूले कुनै पनि गलत काम नगरेको दाबी गर्दै आएका छन्।

म्यान्डलसनले आफू एपस्टिनको वास्तविकताबाट अनभिज्ञ रहेको बताउँदै आएका छन् भने एन्ड्रयूले एपस्टिनसँगको चिनजान घिसलेन म्याक्सवेलमार्फत भएको स्वीकारेका छन्। यो विवादका कारण एन्ड्रयूले आफ्नो शाही उपाधि गुमाउनुपरेको छ भने म्यान्डलसनले अमेरिकाका लागि बेलायती राजदूतको पद त्याग्नुपरेको छ।

न्याय विभागले सार्वजनिक गरेका लाखौँ दस्ताबेज र भिडियोहरूमध्येबाट अझै पनि नयाँ तथ्यहरू फेला पर्ने क्रम जारी छ।

कमेन्टहरु