प्रबास

दक्षिण कोरियामा जिजु एयर दुर्घटना मामिलामा यातायात मन्त्रालयमा छापा

एजेन्सी
२०८२ फाल्गुन २९ | मध्यान्ह ०३:११ बजे

सोल । दक्षिण कोरियाको प्रहरीले त्यहाँको यातायात मन्त्रालयको मुख्यालयमा छापा मारेको छ । दक्षिण कोरियामा भएको सबैभन्दा घातक हवाई दुर्घटनाको अनुसन्धान तीव्र हुँदै जाँदा प्रहरीले छापा मारेको हो । 

सन् २०२४ को डिसेम्बर २९ मा मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा सिमेन्टको पर्खालमा ठोक्किँदा जिजु एयरको फ्लाइट नम्बर २२१६ दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा विमानमा सवार १८१ जनामा दुई जना मात्रै बाँचेका थिए ।

बाँचेका दुई जना विमानका फ्लाइट अटेन्डेन्ट र जहाजको पुच्छरतिरको भागमा बसेका एक यात्री थिए । सोही घटनामा दक्षिण कोरियाली प्रहरीका अनुसार भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यालयमा शुक्रबार छापा मारिएको हो ।

प्रारम्भिक अनुसन्धानले विमानमा चरासँग ठोक्किएको सम्भावना देखाएको थियो । साथै रनवे नजिक रहेको कङ्क्रिटको ढिस्को संरचनाले दुर्घटनाको क्षति झन् बढाएको बताइएको छ । अनुसन्धानकर्ताहरूले दुर्घटनास्थलबाट हटाइएको भग्नावशेषको थुप्रोभित्र मानव शरीरका थप अङ्ग र पीडितका व्यक्तिगत सामान फेला पारेपछि विवाद झन् चर्किएको छ । पीडित परिवारहरूले लामो समयदेखि भग्नावशेष पुनः परीक्षण गर्न माग गर्दै आएका थिए ।

यस घटनापछि दक्षिण कोरियाका राष्ट्रपति लि येए–म्युङले बिहीबार थप अनुसन्धान गर्न आदेश दिएका थिए । उनले मानव अवशेष सङ्कलनमा भएको ढिलाइका लागि जिम्मेवार अधिकारीहरू विरुद्ध अनुशासनकाे कारबाही गर्न पनि निर्देशन दिएका छन् । सरकारको तर्फबाट मन्त्रालयले माफी मागे पनि पीडित परिवारले स्वीकार गरेका छैनन् । 

मन्त्रालयको ढिलो र अपर्याप्त माफीले पीडितलाई दोस्रो पटक मार्नुजस्तै भएको टिप्पणी परिवारका प्रतिनिधिले गरेका छन् ।  दुर्घटनाबारे अनुसन्धानको नतिजा यस वर्षको मध्यसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ । साथै संसद् र अन्य निकायहरूले पनि छुट्टाछुट्टै अनुसन्धान अघि बढाइरहेका छन् । 

कमेन्टहरु