विजयको फिल्म ‘जन नायकन’लाई अर्काे झड्का : अमेजन प्राइमले रद्द गर्यो १२० करोड सम्झौता


काठमाडौँ । दक्षिण भारतीय फिल्मका सुपरस्टार थलापति विजयको अन्तिम भनिएको फिल्म ‘जन नायकन’को समस्या थपिँदै गएको छ । सेन्सर बोर्डसँगको लामो विवाद र प्रदर्शनमा भइरहेको ढिलाइका कारण फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइमले सम्झौता रद्द गरेको छ।
‘जन नायकन’ सुरुमा ९ जनवरीमा रिलिज हुने तयारीमा थियो । तर, केन्द्रीय फिल्म प्रमाणीकरण बोर्डले फिल्मका केही दृश्यहरूलाई ‘संवेदनशील’ भन्दै हटाउन निर्देशन दिएपछि विवाद सुरु भयो । फिल्म निर्माता र सेन्सर बोर्डबिचको यो विवाद अदालतसम्म पुग्यो । दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि फिल्मले अहिलेसम्म सेन्सर सर्टिफिकेट पाउन सकेको छैन ।
विवाद सुल्झाउन निर्माताहरूले अदालतबाट मुद्दा फिर्ता लिएर रिभाइजिङ कमिटीको शरणमा पुगेका थिए । यसै सिलसिलामा ९ मार्चका लागि फिल्मको विशेष स्क्रिनिङ तय गरिएको थियो । तर, कमिटीका एक सदस्य अचानक बिरामी परेपछि अन्तिम समयमा स्क्रिनिङ रद्द गरियो । यसले फिल्मको रिभ्यु प्रक्रियालाई अझै पछाडि धकेलिदिएको छ ।
यो थलापति विजयको ३३ वर्ष लामो फिल्मी करियरको अन्तिम फिल्म बताइएको छ । उनले केही अघि एक कार्यक्रममा अभिनयबाट सन्यास लिने घोषणा गरेका थिए। विजय अब पूर्ण रूपमा राजनीतिमा सक्रिय हुने तयारीमा छन्।






















