गुरुकुल परम्पराको धरोहर : कास्कीको संस्कृत माध्यमिक विद्यालयको इतिहास र विकास


कास्की । कुनै समयको चर्चित भनाइ थियो, ‘शिक्षा नपाए कि जानु काशी, कि जानु कास्की’। प्राचीनकालदेखि नै शिक्षाको विशिष्ट गन्तव्यका रूपमा चासो र चर्चा कमाएको कास्कीमा १८–१९औँ शताब्दीतिर अन्नपूर्ण गाउँपालिका को पाउँदुरमा सञ्चालित पिँढी पाठशाला र विन्ध्यवासिनी क्षेत्रमा सञ्चालित पठनपाठनका कारण यो क्षेत्र शिक्षाको केन्द्रका रूपमा रहेको थियो।
कास्कीमा सञ्चालित गुरुकुल शिक्षा प्रणालीकै जगमा १९५८ सालमा प्रधानमन्त्री देवशमशेर जंगबहादुर राणाका पालामा मुलुकभर प्राथमिक पाठशाला खोल्ने नीतिअनुसार परम्परागत गुरुकुल चलेकै स्थान विन्ध्यवासिनी क्षेत्रमा रुद्रनाथ पौडेल (अघौँ) तथा पं. श्री गुणानिधी पराजुली (मिरुवा, पोखरा) समेतको पहलमा औपचारिक विद्यालय खुलेको शिक्षासेवी एवं संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार सुरुआतमा यस विद्यालयमा संस्कृत एवं नेपाली श्रेस्ता शिक्षा विषयका दुई गुरुबाट पठनपाठन गराउने व्यवस्था सुरु गरिएको थियो। पहिला यहाँ पढेका विद्यार्थी संस्कृत शिक्षाको परीक्षा दिन बनारस जानुपर्ने र श्रेस्ता शिक्षाको परीक्षा दिन काठमाडौँ जानुपर्ने व्यवस्था थियो। पछि निजामती प्रथमा यहीँ हुने र निजामती मध्यमा गर्न काठमाडौँ जानुपर्ने प्रावधान रहेको उनले बताए।
पोखरा महानगरपालिका–१ भीमकाली पाटनस्थित संस्कृत माध्यमिक विद्यालय जिल्लाको मात्र नभई समग्र गण्डकी प्रदेश कै जेठो विद्यालय हो।
२०२८ सालको राष्ट्रिय शिक्षा पद्धतिको योजनाको सुरुआतसँगै तत्कालीन शिक्षा ऐनले निर्देश गरेअनुसार यस विद्यालयमा पनि विद्यालय व्यवस्थापन समिति गठन सुरु भएको पाइन्छ। उक्त ऐनअनुसार विद्यालय व्यवस्थापनका लागि पहिलो अध्यक्षको जिम्मेवारी भोलानाथ पराजुलीले लिए।
त्यसपछि विद्यालयको अध्यक्षको जिम्मेवारीमा क्रमशः मुकुन्दशरण उपाध्याय, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, मोतीमान शाक्य, केशवराज पराजुली, चक्रपाणी सुवेदी, चिजमान गुरुङ, राजेन्द्ररमण पराजुली, गोविन्द नेपाली, ईश्वरीलाल श्रेष्ठ हुँदै हाल विष्णुप्रसाद अधिकारी छन्।
विद्यालयको शैक्षिक प्रशासनतर्फ स्थापनाकालीन समयमा प्रधानाध्यापकको जिम्मेवारी रुद्रनाथ पौडेलले सम्हालेका थिए। त्यसपछि क्रमशः गुणनिधि पराजुली, देवीरमण पराजुली, शिवकुमार रेग्मी, सोमनाथ रेग्मी, टङ्कनाथ पराजुली, बालमुकुन्द रेग्मी, बद्री पहारी, शुकदेव बराल, इन्द्रप्रसाद पराजुली, आत्माराम बाँस्तोला, जनार्दन त्रिपाठी, तोयनाथ पौडेल, तारा पाखे, दामोदर बाँस्तोला, कृष्णप्रसाद देवकोटा, गोविन्दप्रसाद सिग्देल हुँदै हाल श्रीकृष्ण सिग्देल प्रधानाध्यापक छन्।
अभिलेखअनुसार विद्यालयमा २०१३ सालमा सुन्दरप्रसाद मर्सानीको अध्यक्षतामा रहेको समितिले विर्तावाल रत्नाकर पराजुलीबाट राजकीय संस्कृत प्रधान पाठशालाका नाममा जग्गा हस्तान्तरण गराई पठनपाठनको व्यवस्था मिलाएको पाइन्छ।
त्यस्तै २०२१ सालमा अञ्चलाधीश नन्दबहादुर मल्ल अध्यक्ष रहेको समितिले विर्तावाल रत्नाकर पराजुलीबाट हस्तान्तरित जग्गामा भवन निर्माण गराएको देखिन्छ।
विर्ताबाट विद्यालयलाई प्राप्त भएको ८२ रोपनी जग्गामध्ये १० रोपनी जग्गा यहीँ रहेको विन्दुबासिनी संस्कृत विद्यापीठलाई प्रदान गरी संस्कृततर्फको उच्च शिक्षाका कक्षाहरू सञ्चालन भइरहेका छन्।
विद्यालयमा २०२८ सालको नयाँ शिक्षा लागू हुनुअघि संस्कृत, नेपाली र व्याकरण मात्र पठनपाठन गराइँदै आएकोमा २०२८ सालपछि अनिवार्य शिक्षासमेत समावेश गरी राजकीय संस्कृत प्रधानपाठशालाबाट संस्कृत माध्यमिक विद्यालय नामकरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताए।
संस्कृत शिक्षाप्रतिको आकर्षण बढाउन २०७४ सालदेखि विद्यालयमा देशका दूरदराजमा रही शिक्षा प्राप्तिको अवसरबाट वञ्चित विद्यार्थीलाई निःशुल्क आवास तथा भोजनको व्यवस्था गरिएको उनले बताए।
विद्यालयलाई योजनाअनुसार सञ्चालन गर्न विद्यालय सुधार योजना निर्माण गरी निरन्तर सुधार, परिमार्जन र कार्यान्वयन गरिएको छ। विगतको तुलनामा विद्यार्थी संख्या बढेर २२० पुगेको छ।
विद्यालयका आवासीय बटुकद्वारा नियमित रूपमा ध्यान, रुद्राभिषेक, विष्णु सहस्रनाम पाठलगायत आध्यात्मिक क्रियाकलाप सञ्चालन हुँदै आएको छ। विद्यालयमा अध्यापन गरिने कर्मकाण्डलगायत विषयको प्रयोगात्मक कक्षाका रूपमा मन्दिर तथा हवन कुण्ड निर्माण गरिएको उनले जानकारी दिए।
भौतिक पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि
विद्यालयमा विसं २०७८ साउनदेखि अधिकारीको नेतृत्वमा व्यवस्थापन समिति गठन भएपछि भौतिक पूर्वाधारलगायत क्षेत्रमा उल्लेख्य विकास भएको प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले बताए।
यस अवधिमा विद्यालयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा करिब ९२ लाख रुपैयाँको लागतमा चारकोठे पक्की भवन, पानीट्यांकी र शौचालय निर्माण गरिएको छ।
विद्यालय परिसरमा करिब दुई वर्षदेखि रोकिएको शिव पाञ्चायन मन्दिरको निर्माण सम्पन्न गरिएको छ। परिसरमा शिवलिङ्ग, गणेश, विष्णु, देवी, सूर्य (शिव पाञ्चायन) सहित लक्ष्मीनारायण, राधाकृष्ण, सीताराम, सरस्वती, अष्टचिरञ्जीवी र नवग्रहका प्रतिमाहरू स्थापना गरी प्राणप्रतिष्ठासहित नित्य पूजा सुरु गरिएको छ। मन्दिर परिसरमा हवन कुण्ड निर्माण गरिएको छ।
रोटरी क्लबको सहयोगमा करिब ३६ लाख रुपैयाँको लागतमा चारकोठे पक्की भवन थप निर्माण गरिएको छ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिकाको सहयोग र विद्यालयको आन्तरिक स्रोतबाट अडिटोरियम हल निर्माण, विज्ञान प्रयोगशालाको स्तरवृद्धि, भवन निर्माण तथा गुरुकुलमा बसोबासको व्यवस्था मिलाइएको छ।
विभिन्न सहयोगदाता तथा संघसंस्थाको समन्वयमा विद्यालय र शिवपाञ्चायन मन्दिर परिसरमा पुष्पबाटिका निर्माण, सात वटा चौतारी निर्माण तथा धार्मिक महत्वका बिरुवा रोपिएको छ। पोखरा महानगरपालिका–१ तथा विभिन्न अक्षयकोषदाता र सहयोगदाताको सहयोगमा छात्रवृत्तिको व्यवस्था गरिएको छ। साथै खानेपानी र खेल मैदान निर्माण गरिएको छ।
विद्यालयको गुरुकुलतर्फ विगतमा ११ जना मात्र बटुक रहेकामा हाल आवासीय बटुक संख्या बढेर ७० पुगेको छ। उनीहरूलाई निःशुल्क आवास तथा भोजनको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले बताए। गुरुकुल व्यवस्थापनका लागि छुट्टै उपसमिति गठन गरिएको छ। हाल गुरुकुलमा छ जना विशिष्ट सदस्य र १८६ जना आजीवन सदस्य छन्।
गुरुकुल व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउन महर्षि वैदिक फाउन्डेशनसँग सम्झौता गरिएको छ। उक्त फाउन्डेशनले मासिक रूपमा भोजन व्यवस्थापनका लागि ५० हजार रुपैयाँ र ध्यान शिक्षकका लागि २२ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
विद्यालयको शैक्षिक गुणस्तर तथा नतिजामा सुधार ल्याउन अतिन्यून शुल्कमा अतिरिक्त कक्षाको व्यवस्था गरिएको विद्यालयका सूचना अधिकारी श्रीकान्त सापकोटाले बताए।
उनका अनुसार विद्यार्थीका लागि वेद तथा कर्मकाण्डसम्बन्धी अतिरिक्त कक्षासँगै व्यावहारिक सीपसमेत प्रदान गरिएको छ। विद्यालयमा संस्कृत विषयतर्फ ‘प्लस टु’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ। साथै नेपाल संस्कृत विश्वविद्यालय सँग समन्वय गरी दश जोड दुई कार्यक्रममा निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ।
विद्यालयले भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर सुधारतर्फ पनि उल्लेख्य प्रगति गरेको छ।






















