देश

आफ्नै बुद्धिभन्दा एआईमा बढी विश्वास, व्यवसायीको निर्णय क्षमतामा संकट : अध्ययन

एजेन्सी
२०८२ फाल्गुन २८ | मध्यान्ह ०६:११ बजे

लन्डन । आधुनिक प्रविधिको बढ्दो प्रयोगसँगै विश्वका शक्तिशाली व्यापारिक नेतृत्वहरू आफ्नो निर्णय लिने क्षमता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई सुम्पिन थालेका छन् । मार्केट रिसर्च एजेन्सी ३–जेमले गरेको पछिल्लो अध्ययन अनुसार बेलायतका ६२ प्रतिशत बिजनेस लिडरहरू महत्त्वपूर्ण निर्णय लिनका लागि एआई च्याटबोटको सहारा लिइरहेका छन्।

अध्ययनमा सहभागी २०० जना सञ्चालक, संस्थापक र प्रमुख कार्यकारी अधिकृतहरूमध्ये ४६ प्रतिशतले आफ्ना व्यावसायिक साझेदारको तुलनामा एआईको सल्लाहलाई बढी विश्वास गर्ने गरेको अनौठो तथ्य बाहिरिएको छ । यो निर्भरता यतिसम्म बढेको छ कि १४० जना नेतृत्वकर्ताले आफ्ना व्यक्तिगत विचार र एआईको सिफारिस बाझिँदा उनीहरू आफ्नै सोचमा शंका गर्न थालेका छन्।

गत वर्षको एक रिपोर्टले त ६४ प्रतिशत व्यवसायीले कर्मचारी निष्कासनजस्ता संवेदनशील विषयमा पनि एआईको सल्लाह लिने गरेको देखाएको थियो। ३–जेमको २०२५ को तथ्याङ्कले भने २७ प्रतिशतले यस्ता कठोर निर्णयमा एआई प्रयोग गर्ने गरेको उल्लेख गरेको छ। एआईमाथिको यो अन्धविश्वासले मानिसको मौलिक सोच र विश्लेषण गर्ने क्षमतालाई बिस्तारै सिध्याउँदै लगेको विज्ञहरूको चेतावनी छ।

कार्नेगी मेलन र माइक्रोसफ्टको संयुक्त अध्ययनले एआईमा धेरै निर्भर रहँदा मानिसको गहिरो सोचाइ राख्ने शक्ति घट्दै गएको निष्कर्ष निकालेको छ। मेसिनले राम्रो काम गरिरहेको छ भन्ने लागेपछि मानव मस्तिष्कले प्रयास गर्न छोड्ने र यसले सेल्फ–ड्राइभिङ कारमा बसेको ड्राइभरले सडकबाट ध्यान हटाएजस्तै जोखिम निम्त्याउने विशेषज्ञहरू बताउँछन्।

डेनमार्कका मनोचिकित्सक सोरेन ओस्टरगार्डले त यसलाई एआई साइकोसिसको संज्ञा दिएका छन्। यसले मानिसमा कग्निटिभ डेट अर्थात् दिमागी सुस्ती बढाउने र तर्क शक्ति गुम्दै जाने खतरा रहन्छ।

एमआईटीको शोधले पनि च्याटजीपीटी जस्ता प्रविधिले युवाहरूको क्रिटिकल थिंकिङ (आलोचनात्मक सोच) खतम गरिरहेको देखाएको छ। गुगल सर्च गर्नेहरूको तुलनामा एआईमा भर पर्नेहरूको दिमागी सक्रियता निकै कम पाइएको छ।

लेखिका नतालिया कस्मिनले त विकासोन्मुख बालबालिकाका लागि एआई सबैभन्दा खतरनाक भएको भन्दै यसले उनीहरूको दीर्घकालीन मानसिक विकास र सिक्ने क्षमतामा अपूरणीय क्षति पुर्‍याउन सक्ने चेतावनी दिएकी छन्।

प्रविधिको सुविधाले मानिसलाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि परजीवी बनाउँदै लगेको भन्दै अहिले विश्वभर चिन्ता व्यक्त हुन थालेको छ।

कमेन्टहरु