चीनको ‘टु सेसन्स’ : विश्वको दोस्रो ठूलो अर्थतन्त्रले कुन बाटो रोज्दैछ?


बेइजिङ । चीनको सबैभन्दा ठूलो राजनीतिक भेला – नेशनल पिपुल्स कंग्रेस (एनपीसी) बिहीबार सकिँदैछ। यसको बृहत् अधिकार क्षेत्रभित्र कानुन बनाउने, संविधान संशोधन गर्ने र राज्यको बजेट पारित गर्ने काम समावेश छ। यसले चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहले गरेका निर्णयहरूलाई मात्र अनुमोदन गर्ने गर्छ।
तैपनि, एनपीसी र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) का बैठकहरू, जसलाई टु सेसन्स (दुई सत्र) पनि भनिन्छ, लाई नजिकबाट हेरिन्छ किनभने तिनीहरूले विश्वको दोस्रो ठूलो अर्थतन्त्रका प्राथमिकताहरूलाई संकेत गर्छन्।
त्यहाँबाट बुझेका मुख्य निष्कर्षहरू यहाँ प्रस्तुत गरेका छन्:
चीन आफूलाई स्थिरताको प्रतीक देखाउन चाहन्छ
– लौरा बिकर, चीन संवाददाता
विश्वको प्रमुख महाशक्ति बन्ने चीनको प्रयास मुख्यतया एउटै कुरामा निर्भर छ – आफ्नो अर्थतन्त्रलाई व्यवस्थापन गर्ने राष्ट्रपति सी जिनपिङको क्षमता।
यो हासिल गर्न, अनपेक्षित अमेरिकी राष्ट्रपति र मध्यपूर्वको युद्धले ग्रसित अत्यन्त अनिश्चित विश्वमा आफ्नो हिसाबकिताब सन्तुलनमा राख्ने प्रयास गर्दै गर्दा सी थप निश्चितता खोजिरहेको देखिन्छन्।
चिनियाँ जनतालाई धेरै पैसा खर्च गर्न प्रोत्साहित गर्ने उनका नीतिहरू धरमराइरहेको आन्तरिक अर्थतन्त्रलाई स्थिर बनाउने उद्देश्यले प्रेरित छन्।
प्राविधिक सर्वोच्चताका लागि उनको जोड भनेको भविष्य जित्ने र नवीनतम फ्याक्ट्री रोबोट वा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरूको लागि अरूलाई चीनको ढोकामा आउन बाध्य पार्ने प्रयास हो।

चीनको नवीकरणीय ऊर्जा उत्पादन बढाउने तर्फको उनको निरन्तर प्रयासले देशलाई थप आत्मनिर्भर बन्न मद्दत गर्नेछ। अब चीनलाई इरानलगायत अन्य देशहरूबाट पहिले जस्तो धेरै तेल र ग्याँस आवश्यक पर्दैन। अनि पक्कै पनि यस्तो ठूलो राजनीतिक कार्यक्रमको उत्कृष्ट कोरियोग्राफी पनि छ, ब्यान्डको अभ्यस्त धुनदेखि लिएर भाषण सुन्न बस्ने र एकैसाथ पाना पल्टाउने प्रतिनिधिहरूको लगनशीलतासम्म।
ग्रेट हल अफ द पिपुलमा देखिने शान्त, अत्यधिक नियन्त्रित र सावधानीपूर्वक तयार पारिएको राजनीति, ह्वाइट हाउसको त्यो आक्रामक रवैया भन्दा बिलकुल फरक छ, जसले इरानमाथिको हमलाले आफ्ना सहयोगीहरूलाई त्रसित बनाएको छ र बजारलाई हल्लाएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी आफू स्थिरताको प्रतीक हो भनेर देखाउन खोजिरहेको छ, जसको ध्यान आफ्नो अर्थतन्त्र र भविष्य सुधार्नमा केन्द्रित छ।
व्यापार युद्धमा अमेरिकी कर (ट्यारिफ) विरुद्ध लडेर अन्ततः युद्धविराममा पुगेपछि सीलाई चीन पहिल्यै बलियो स्थितिमा रहेको महसुस हुनेछ। चीनको व्यापारिक प्रभुत्वले बेलायत र क्यानडा लगायतका पहिले सशंकित ग्राहकहरूलाई पनि फेरि आकर्षित गरिरहेको छ।
भू-राजनीतिक परिदृश्य परिवर्तन हुँदैछ, र वासिङ्टनमा रहेका आफ्ना प्रतिद्वन्द्वीको ध्यान विकर्षित भएको बेला सीले चीनको उदयको अवसर देख्न सक्छन्। तर उनलाई यो पनि थाहा छ कि आउँदा वर्षहरूमा आफ्नो देशले आफ्नै आर्थिक चुनौतीहरूको कसरी सामना गर्छ भन्ने कुरामा धेरै कुरा निर्भर हुनेछ।
चीन प्रविधिलाई आफ्नो भविष्यको मुख्य आधार मान्छ
– सुरञ्जना तिवारी, एसिया व्यापार संवाददाता
चीनको आर्थिक वृद्धिको अर्को चरणलाई अघि बढाउन बेइजिङले प्रविधि र नवीनतामा ठूलो बाजी लगाइरहेको छ।
देशको १५औँ पञ्चवर्षीय योजनाले वैज्ञानिक सफलतालाई गति दिने र अर्थतन्त्रभरि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई समावेश गर्ने खाका तयार गरेको छ। अमेरिकासँगको तनाव बढ्दै जाँदा, अब प्रविधिलाई आर्थिक प्राथमिकताको रूपमा मात्र नभई रणनीतिक प्राथमिकताको रूपमा पनि हेरिएको छ।
प्रविधिमा अनुसन्धान र विकासको खर्च करिब ७ प्रतिशतले बढ्ने तय भएको छ। अधिकारीहरूले उत्पादन, रसद (लोजिस्टिक्स), स्वास्थ्य सेवा र शिक्षामा एआईलाई एकीकृत गर्न ‘एआई+’ योजना सुरु गरेका छन्।
चीनले सेमीकन्डक्टर, रोबोटिक्स, बायोटेक्नोलोजी, क्वान्टम कम्प्युटिङ, र ६जी सञ्चार तथा ब्रेन-कम्प्युटर इन्टरफेसजस्ता उदीयमान क्षेत्रमा पनि भारी लगानी गरिरहेको छ।

दशकौंसम्म, चीनको वृद्धि घरजग्गा र पूर्वाधार परियोजनाहरूबाट सञ्चालित थियो। अब नीति निर्माताहरूले प्रविधि र औद्योगिक स्तरवृद्धिमा ध्यान केन्द्रित गरिरहेका छन्। नेताहरूले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिको लक्ष्य ४.५ देखि ५ प्रतिशतसम्म राखेका छन् – जुन १९९१ यताकै सबैभन्दा कम हो। यसले सुस्त विस्तारको अपेक्षालाई संकेत गर्छ।
विश्लेषकहरू भन्छन्, घरायसी खर्च नबढेसम्म यो योजनाले संघर्ष गर्नुपर्ने हुन सक्छ। अन्य प्रमुख अर्थतन्त्रहरूको तुलनामा चीनमा उपभोक्ताको माग कम छ, र घरजग्गामा आएको मन्दीले सम्पत्ति र आत्मविश्वास दुवै घटाएको छ।
यसमा मद्दत पुर्याउन, सरकारले बाल हेरचाह र वृद्ध हेरचाह सेवाहरू विस्तार गर्ने र सशुल्क बिदा लागू गर्ने योजना बनाएको छ, जसको उद्देश्य वित्तीय दबाब कम गर्नु र खर्चलाई प्रोत्साहित गर्नु हो।
नेताहरूले पूर्वाधार, समाज कल्याण, र औद्योगिक परियोजनाहरूमा लगानी गर्न थप ऋण लिन इच्छुक रहेको पनि संकेत गरेका छन् – जुन बढ्दो ऋण स्तरलाई लिएर विगतमा अपनाइने सावधानी भन्दा फरक कदम हो।
यद्यपि यसमा जोखिमहरू पनि छन्। राज्य-समर्थित लगानीले पहिले नै धेरै आलोचना खेपिसकेको छ, र विद्युतीय सवारी साधन जस्ता उद्योगहरूमा क्षमता भन्दा बढी उत्पादन भएको छ। यसले स्वदेशमा मूल्य युद्ध र विदेशमा व्यापारिक तनाव पनि बढाएको छ।
विज्ञहरू चेतावनी दिन्छन् कि यदि उपभोक्ताहरू खर्च गर्न हिचकिचाइरहने हो भने प्रविधिले मात्र बेइजिङले आशा गरेजस्तो उच्च गुणस्तरको वृद्धि दिन सक्दैन।
अहिलेको लागि, बेइजिङ विश्वस्त देखिन्छ कि एआई, उदाउँदा उद्योगहरू, र नवीनताले अर्थतन्त्रको अर्को चरणलाई उर्जा दिन सक्छन्। तर सफलता अन्ततः आम चिनियाँ घरपरिवारले खर्च गर्न आफूलाई पर्याप्त सुरक्षित महसुस गर्छन् कि गर्दैनन् भन्ने कुरामा भर पर्न सक्छ।
चीनले खर्च बढाउने योजना सार्वजनिक गर्यो तर विवरणहरू अपर्याप्त छन्
– स्टेफेन म्याकडोनेल, चीन संवाददाता
वर्षौँदेखि अर्थशास्त्रीहरूले चीनलाई आन्तरिक खपत बढाएर र उत्पादित वस्तुहरूको निर्यातमाथिको भारी निर्भरतालाई कम गरेर आफ्नो अर्थतन्त्रको समग्र स्वास्थ्य र दीर्घकालीन दिगोपन सुधार गर्न आह्वान गर्दै आएका छन्।
त्यसैले, उपभोक्ता मागलाई जोड्तोडले बढाउने वाचा गर्ने यस एनपीसीका नेताहरूको भनाइलाई स्वागत गरिनेछ। तर धेरै विश्लेषकहरू प्रश्न गरिरहेका छन् कि प्रस्तावित उपायहरूले वास्तवमै फरक पार्न पर्याप्त छन् त?
चिनियाँ मानिसहरू परम्परागत रूपमा खर्च गर्नु भन्दा अप्ठ्यारो समयको लागि बचत गर्न रुचाउँछन्। र अहिले, घरको मूल्य घटिरहेको र युवा बेरोजगारीको उच्च स्तरको कारणले गर्दा, उनीहरू खर्च गर्न झनै हिचकिचाइरहेका छन्।
त्यसोभए तपाईं चिनियाँ उपभोक्ताहरूलाई कसरी धेरै खरिद गर्न लगाउनुहुन्छ?
एउटा तरिका भनेको आम्दानी बढाउनु हो। एनपीसीका प्रवक्ता लाउ छिन्चियानले भविष्यमा यो हासिल गर्नका लागि योजनाहरू कार्यान्वयन गरिने बताए। तर उनले कुनै विस्तृत विवरण दिएनन्।
घोषणा गरिएको एउटा विशिष्ट उपाय भनेको बाल हेरचाहमा सरकारी खर्च बढाउनु हो। यस प्रकारको सहयोगले मानिसहरूलाई थप खर्चयोग्य आम्दानी दिन सक्छ जसले सैद्धान्तिक रूपमा, उनीहरूलाई आवश्यक पर्ने घरायसी सामानहरू किन्न स्वतन्त्र बनाउन सक्छ।
ग्रामीण र काम नगर्ने शहरी बासिन्दाहरूको लागि न्यूनतम सेवानिवृत्ति सुविधाहरू (पेन्सन) बढाइएको छ, तर प्रति महिना केवल ३ डलर बराबरले मात्र। यसलाई चिनियाँ सामाजिक सञ्जालमा लगभग केही होइन भन्दै खिल्ली उडाइएको छ।
घोषणा गरिएका अधिकांश उपायहरू, उदाहरणका लागि पहिलो पटक विवाह गरेका जोडीहरूलाई आवास समर्थन बढाउने, सुत्केरी बिदालाई परिष्कृत गर्ने वा पुराना घरायसी उपकरणहरू नयाँ वस्तुहरूसँग साट्ने ट्रेड-इन कार्यक्रमहरूलाई निरन्तरता दिने जस्ता कुराहरूमा कुनै स्पष्ट विवरण दिइएको थिएन।
अधिकारीहरूले तर्क गर्न सक्छन्, एनपीसीले केवल माहोल तयार गर्ने काम गर्छ र घरायसी बजेट सहयोगको विशिष्ट विवरणहरू पछि आउनेछन्।
तर, विवरण बिना, यी कुनै पनि योजनाले वास्तवमा महत्त्वपूर्ण रूपमा खपतमा सुधार ल्याउँछ कि ल्याउँदैन भनेर जान्न गाह्रो छ।






















