बिश्व

मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह

रासस
२०८२ फाल्गुन २७ | मध्यान्ह ०५:११ बजे

काठमाडाैँ । मध्यपूर्व क्षेत्रमा बढ्दै गएको द्वन्द्व र अस्थिरताले इरानमा बसोबास गर्दै आएका अफगान परिवारहरूलाई स्वदेश फर्किन बाध्य बनाइरहेको छ । यसरी ठुलो सङ्ख्यामा फर्किरहेका परिवारहरूसँगै बालबालिकाको अवस्था निकै जोखिमपूर्ण बन्दै गएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ । युनिसेफका अनुसार सीमावर्ती क्षेत्रहरूमा आइपुग्ने धेरै परिवारहरू अत्यन्त थकित, चिन्तित र आधारभूत सहयोगको आवश्यकता भएको अवस्थामा देखिएका छन्।

पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित इस्लाम काला सीमा नाका लगायतका विभिन्न प्रवेश बिन्दुहरूमा इरानबाट फर्किने अफगान परिवारहरूको सङ्ख्या पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ । धेरैजसो परिवारहरू अचानक यात्रा गर्न बाध्य भएका कारण उनीहरूसँग पर्याप्त खाद्यान्न, स्वास्थ्य सेवा वा सुरक्षित बसोबासको व्यवस्था नभएको अवस्था छ। । लामो र कठिन यात्राका कारण विशेष गरी साना बालबालिका, गर्भवती महिला र वृद्ध व्यक्तिहरू बढी प्रभावित भएका छन्।

अफगानिस्तानका लागि युनिसेफका प्रतिनिधि ताजुद्दीन ओयेवालेले स्वागत केन्द्रहरूमा पुगिरहेका आमाहरू आफ्ना बालबालिकासहित अत्यन्तै थकित र मानसिक दबाबमा रहेको बताउनुभएको छ । उहाँका अनुसार धेरै बालबालिकाले लामो यात्रा, खानपानको अभाव र असुरक्षित अवस्थाका कारण शारीरिक तथा मानसिक समस्या भोगिरहेका छन् । उनले आगमनको संख्या अझै बढ्ने सम्भावना रहेको उल्लेख गर्दै यदि आवश्यक सहयोग तुरुन्त उपलब्ध गराउन सकिएन भने बालबालिकाको स्वास्थ्य र सुरक्षामा गम्भीर असर पर्ने चेतावनी दिए।

उपलब्ध तथ्याङ्कअनुसार पछिल्लो एक वर्षमा मात्र करिब तीस लाख अफगान नागरिक छिमेकी देशहरूबाट अफगानिस्तान फर्किएका छन् । तीमध्ये अधिकांश इरान र पाकिस्तानबाट फर्किएका हुन् । फर्किने व्यक्तिहरूमध्ये झण्डै साठ्ठी प्रतिशत बालबालिकासहितका परिवार रहेका छन् । ठुलो सङ्ख्यामा परिवारहरू एकैचोटि फर्किँदा स्थानीय समुदाय, स्वास्थ्य सेवा, शिक्षा तथा अन्य आधारभूत सेवाहरूमा थप दबाब परेको छ ।

अफगानिस्तान पहिले नै आर्थिक कठिनाइ, बेरोजगारी, खाद्यान्न अभाव र कमजोर स्वास्थ्य संरचनाका कारण मानवीय संकटको सामना गरिरहेको देश हो । यस्तो अवस्थामा बाहिरबाट ठूलो सङ्ख्यामा फर्किने परिवारहरूले देशको सीमित स्रोतसाधनमाथि अझ बढी दबाब सिर्जना गरेका छन् । धेरै परिवारहरू घरबारविहीन छन् र उनीहरूलाई बसोबास, खाद्यान्न, स्वास्थ्य सेवा तथा सरसफाइ सामग्रीको तत्काल आवश्यकता रहेको छ ।

युनिसेफले विशेष गरी बालबालिकाको पोषण अवस्था, स्वास्थ्य सेवा, सुरक्षित पिउने पानी, सरसफाइ र स्वच्छता सम्बन्धी सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदाय, दातृ संस्था तथा मानवीय सहयोग निकायहरूलाई सहयोग बढाउन आग्रह गरेको छ । संस्थाले सीमावर्ती क्षेत्रमा अस्थायी सहायता केन्द्रहरू सञ्चालन गर्दै बालबालिका र आमाहरूलाई आवश्यक स्वास्थ्य सेवा, पोषण आहार तथा मनोसामाजिक सहयोग उपलब्ध गराउने प्रयास गरिरहेको जनाएको छ ।

युनिसेफका अनुसार समयमै पर्याप्त सहयोग नपुगेमा हजारौं बालबालिका कुपोषण, रोग तथा असुरक्षाको जोखिममा पर्न सक्छन् । त्यसैले अफगानिस्तान फर्किने परिवारहरूलाई दीर्घकालीन सहयोग र पुनर्स्थापना कार्यक्रम आवश्यक रहेको संस्थाले जोड दिएको छ ।

कमेन्टहरु