बिश्व

विश्वकपमा इरानलाई स्वागत गरिने ट्रम्पको आश्वासन

एजेन्सी
२०८२ फाल्गुन २७ | मध्यान्ह ०५:११ बजे

वासिङटन डीसी । विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फेंटिनोले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको राष्ट्रिय फुटबल टोलीलाई अमेरिका आयोजना हुने विश्वकपमा सहभागी हुन स्वागत गरिने आश्वासन दिएको बताएका छन् ।

मंगलबार ट्रम्पसँग भेटवार्ता गरेको र आगामी जुनमा सुरु हुने फिफा विश्व कपको तयारीबारे छलफल भएको जानकारी इन्फान्टिनोले दिएका हुन् । सो अवसरमा इरानले प्रतियोगितामा स्थान बनाएको विषय पनि उठाइएको थियो ।

ट्रम्पले ‘इरानको टोलीलाई संयुक्त राज्य अमेरिकामा आयोजना हुने प्रतियोगितामा खेल्न स्वागत छ’ भनेर दोहोर्‍याएको इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै इन्फान्टिनोले उल्लेख गरे । तर इरानी टोली वास्तवमै प्रतियोगितामा सहभागी हुन्छ कि हुँदैन भन्ने विषय अझै स्पष्ट छैन । इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले हालैको सैन्य तनावपछि सहभागिताबारे अनिश्चितता रहेको संकेत दिएका छन् ।

उनले खेलकुद पोर्टल वरजेशघसँग भनेका छन्, ‘यस आक्रमणपछि हामीले विश्वकपलाई उत्साहका साथ हेर्न सक्ने स्थिति छैन ।’ यसअघि पनि अमेरिका–इरान तनावका कारण इरानी समर्थकहरूको विश्वकप सहभागिता जटिल बनेको थियो । अमेरिकी यात्रा प्रतिबन्धका कारण इरानका धेरै समर्थकलाई प्रतियोगिता हेर्न अमेरिका प्रवेशका लागि भिसा नपाउने बताइएको थियो ।

गत वर्ष वाशिङ्टन डीसीमा भएको विश्वकपको ड्र कार्यक्रममा पनि इरानी प्रतिनिधिमण्डलका आधाभन्दा बढी सदस्यको भिसा अस्वीकृत भएपछि उनीहरूले कार्यक्रम बहिष्कार गर्ने स्थिति लगभग सिर्जना भएको थियो । यद्यपि इन्फान्टिनोले विश्वकपलाई विश्वलाई एकताबद्ध गर्ने अवसरका रूपमा चित्रित गरेका छन् । ‘अहिलेको तनावपूर्ण अवस्थामा विश्वलाई एकतामा बाँध्ने कार्यक्रमको आवश्यकता छ, र फुटबलले संसारलाई जोड्छ,’ उनले भनेका छन् ।  

कमेन्टहरु