‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ


चितवन, फागुन, २७। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री वितरणका लागि डेरीमार्ट थप गर्दै लगेको छ । पहिलो ‘डेरीमार्ट’ भरतपुर महानगरपालिका(१० दूरसञ्चार रोडमा सञ्चालनमा ल्याएको सङ्घले दोस्रो शाखा नारायणगढको बेलचोकमा सञ्चालनमा ल्याएको हो ।
सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार यो वर्षमा पाँच स्थानमा डेरीमार्ट सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको छ । सङ्घले आफैँले उत्पादन गरेका दुग्धजन्य पदार्थ बिक्रीवितरण र बजारीकारणका लागि मार्ट सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । सङ्घले रत्ननगरमा आफ्नो डेरी उद्योग सञ्चालनमा ल्याएर त्यहाँबाट उत्पादित दूध, दही, घ्यू, पनिरलगायत सामग्री मार्टमार्फत बिक्रीवितरण सुरु गरेको हो ।
अहिले जिल्लामा रहेका ११५ वटा दुग्ध उत्पादक सहरकारी सङ्घले दूध उत्पादन र बिक्रीवितरण गर्दै आएका छन् । दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको यहाँबाट स्थानीय बजारसहित काठमाडौँ, पोखरालगायत ठूला सहरमा दूध पुर्याउँदै आइएको छ । यहाँका किसानले रु ५० करोड बराबरको दूधको भुक्तानी पाउन बाँकी छ । समयमा भुक्तानी पाउन नसकेपछि सहकारी आफैँले प्रशोधन गरेर बजारीकरण गर्न थालेको हो ।






















