इरान युद्धको मूल्य उपभोक्ताको थाप्लोमा पर्ने चेतावनी


कोपेनहेगन । विश्वको दोस्रो ठुलो ढुवानी कम्पनी मर्स्कका प्रमुखले इरान युद्धका कारण विश्वका प्रमुख व्यापार मार्ग प्रभावित हुँदा बढेको समुद्री ढुवानी खर्च अन्ततः उपभोक्तामाथि पर्ने चेतावनी दिएका छन् । डेनमार्कस्थित मर्स्कका प्रमुख कार्यकारी अधिकृत भिन्सेन्ट क्लेर्कले बीबीसीसँगको एक विशेष अन्तर्वार्तामा कम्पनीहरूले इन्धन मूल्यमा हुने उतार–चढाव ग्राहकमा सार्ने परम्परागत व्यवस्था भएको बताए ।
उनका अनुसार जहाज सञ्चालनमा लाग्ने इन्धनको मूल्य बढ्दा त्यसको अतिरिक्त खर्च कम्पनीका ग्राहकहरूलाई तिर्न लगाइन्छ र अन्ततः त्यसको प्रभाव उपभोक्तासम्म पुग्छ । क्लेर्कले भने, ‘इन्धनको मूल्य बढोस् वा घटोस्, हामीसँग यस्तो करार प्रणाली हुन्छ जसले त्यसको प्रभाव ग्राहकमा सार्छ । त्यसैले अहिलेको अवस्थामा बढेको खर्च अन्ततः उपभोक्ताले नै व्यहोर्नुपर्ने हुन्छ ।’
इरान युद्धका कारण मध्यपूर्वका दुई महत्त्वपूर्ण समुद्री व्यापार मार्ग लगभग ठप्प भएको अवस्था छ । युद्धअघि विश्वको करिब २० प्रतिशत तेल आपूर्ति होर्मुज जलडमरू हुँदै विश्व बजारमा पुग्ने गर्थ्यो । तर इरानले जहाजहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएपछि उक्त मार्ग प्रभावकारी रूपमा बन्दजस्तै भएको छ । यसले विश्व व्यापार र ऊर्जा आपूर्तिमा ठुलो असर पारेको छ ।
अमेरिका र फ्रान्ससहित केही देशहरूले समुद्री मार्ग सुरक्षित बनाउन नौसैनिक सुरक्षाको व्यवस्था गर्न सकिने प्रस्ताव गरेका छन् । तर मर्स्कका प्रमुख क्लेर्कले आफ्नो कम्पनीले जहाज र कर्मचारीलाई जोखिममा नपार्ने स्पष्ट पारेका छन् ।
उनले भने, ‘हाम्रो सबैभन्दा ठुलो चिन्ता भनेको चालक दलको सुरक्षा र जहाजको सुरक्षा हो ।’ उनका अनुसार ड्रोन आक्रमणको जोखिम रहँदासम्म र युद्धविरामको स्पष्ट ग्यारेन्टी नहुँदासम्म जहाजहरूलाई जोखिमपूर्ण क्षेत्रमा पठाउन निकै कठिन हुनेछ । क्लेर्कले अमेरिका, इजरायल र इरानलाई मध्यपूर्वका व्यापार मार्ग पुनः सञ्चालनमा ल्याउन कुनै न कुनै सहमति गर्न आग्रह पनि गरेका छन् ।






















