देश

प्रत्यक्षतर्फको मतगणना सम्पन्न, समानुपातिकतर्फको नतिजा आजै

नवलपुर टुडे
२०८२ फाल्गुन २७ | बिहान ०९:११ बजे

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना पाँच दिनभित्र सकिएको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ निर्वाचन क्षेत्रको मतगणना सोमबार राति सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तयारी र प्रबन्ध मिलाएअनुरूप मतगणना कार्य शान्तिपूर्ण रूपमा विनाअवरोध सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

मतदान सकिएसँगै ललितपुर, काठमाडौं, पोखरालगायत क्षेत्रमा सोही दिन रातिदेखि मतगणना सुरु भएको थियो । हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएका दुर्गम १५ जिल्लाका विकट क्षेत्र र कतिपय निर्वाचन क्षेत्रबाहेक जम्मै क्षेत्रमा २४ देखि ४८ घण्टाको अवधिमा मतपरिणाम आउन शुरु गरेको आयोगले जनाएको छ । ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रूकुम (पूर्वी भाग), संखुवासभा, सोलुखुम्बु, गोरखा र रूकुम (पश्चिम भाग), मनाङ तथा बाजुरा र हुम्लाका मतपेटिका शनिवारसम्म मतगणनास्थल पु¥याइएको थियो ।

परम्परागत दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका शीर्षस्थ नेताहरूलाई ठूलो अन्तरले हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ सय २५ सिट जितेको छ । नेपाली कांग्रेसले १८ सिट, नेकपा (एमाले) ले ९ र नेपाली कम्युनिष्ट पार्टीले ७ सिट जितेको छ । त्यसै गरी श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक र स्वतन्त्र उम्मेदवार १ सिट जितेको छ ।

समानुपातिकतर्फ एक करोड ४ लाख ४३ हजार २७२ मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख १४ हजार ८ सय ९१ मत कटाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले १६ लाख ९५ हजार २६६, तेस्रो भएको एमालेले १४ लाख १३ हजार ६९ र चौथो भएको नेकपाले ७ लाख ६७ हजार ३२७ मत पाएको छ । यस्तंै, पाँचौं भएको श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६८ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २५ हजार ३ सय ७५ मत ल्याएको छ ।

समानुपातिकतर्फको मतगणना आज बुधबारसम्ममा सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । मतगणना सकिएपछि खसेको सदर मतको प्रतिशतका आधारमा दलहरूले पाएको मत प्रतिशत निर्धारण गरिनेछ । त्यसपछि सम्बन्धित राजनीतिक दलहरूलाई समानुपातिक बन्दसूचीबाट निर्वाचित हुने उम्मेदवारहरूको नामावली पठाउन आयोगले आग्रह गर्नेछ । दलहरूबाट प्राप्त नामलाई आयोगले क्लस्टरअनुसार रुजु गर्दै अन्तिम रूपमा निर्वाचित सदस्यहरूको छनोट गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ ।

छनौट प्रक्रिया पूरा भएपछि निर्वाचित सदस्यहरूलाई आयोगले औपचारिक रूपमा प्रमाणपत्र प्रदान गर्नेछ । आयोगका अनुसार समानुपातिकतर्फ विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरणदेखि निर्वाचनको सबै प्रक्रिया यही चैत्र पहिलो साताभित्र पूरा हुने जनाएको छ । त्यसपछि प्रत्यक्षतर्फ र समानुपातिकतर्फको सम्पूर्ण परिणामसहित प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने छ ।

कमेन्टहरु